इटहरीः इटहरीको जनता माध्यमिक विद्यालय र नेपाल विद्यार्थी सङ्घबीच सहमति भएको छ । जनता माध्यमिक विद्यालयले शुरु गर्न लागेको अङ्ग्रेजी माध्यममा हुने शिक्षण प्रक्रियाको विषयमा नेवि सङ्घले विरोध जनाएको थियो ।

त्यसमा बिहीबार सहमति भएको हो । सहमतिअनुसार अब प्रत्येक कक्षामा थप १० जना विद्यार्थीलाई अङ्ग्रेजी माध्यममा भर्ना लिन विद्यालय व्यवस्थापनलाई अनुरोध गर्ने सहमति भएको छ ।

विद्यालयका प्रधानाध्यापक छत्रपति ढुङ्गेल र नेवि सङ्घ सुनसरी जिल्ला सभापति मन्दीप भट्टराईबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । जसमा जनता माविमै अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराएर थप विद्यार्र्थी अङ्ग्रेजी माध्यममा समेटिने भएको हो । त्यस्तै विद्यालयले लिने भनेको १५ हजार रुपैयाँ शुल्कको विषयमा अभिभावकले स्वेच्छाले दिए लिने र नदिए नलिने सहमति भएको बताइएको छ ।

ई लाइब्रेरी शुरु गर्ने र आगामी वर्ष शिशु कक्षादेखि नै अङ्ग्रेजी भाषामा पढाइ हुने वतावारण सिर्जना गरिने बताइएको छ । उक्त सहमतिअनुसार विद्यालय व्यवस्थापन समितिले तोकेको ४० जनाबाट बढेर ५० जना विद्यार्थीले अङ्ग्रेजी माध्यमबाट पढ्न पाउने भएका छन् । यो कार्यक्रम यही शैक्षिक सत्रदेखि ४ कक्षाभन्दा माथि सञ्चालन हुने भएको हो ।