धरानः पिउने पानीका लागि नागरिक पहल तदर्थ समिति धरानले बिहीबार धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीलाई भेटेर धरानवासीलाई पिउने पानीको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
समितिले उपमहानगरपालिकालाई पिउने पानी वितरण र अनुगमनमा प्रतिबद्धता समेत जनाउन माग गरेको थियो । सोहीअनुसार उपमहानगरपालिकाले प्रतिबद्धता समितिसमक्ष ३ बुँदे प्रतिबद्धता पनि जनाएको छ ।
समितिका संयोजक महेश श्रेष्ठका अनुसार उपमहानगरपालिकाले धरानवासीलाई यथाशीघ्र पिउने पानी उपलब्ध गराउने, सेवाग्राहीको गुनासो सुन्ने र गुनासो सङ्कलन गर्न यथाशीघ्र ‘हेलो सेवा’ सञ्चालन गर्ने, खानेपानी व्यवस्थापन बोर्डबाट वितरण हुने पिउने पानीको व्यवस्थापनको प्रभावकारी अनुगमन गर्नका लागि यथाशीघ्र नागरिक अनुगमन समिति गठन गर्ने प्रतिबद्धता जनाएको छ ।
समितिले धरानमा शुद्ध पिउने पानीका लागि नागरिक स्तरको दबाब दिँदै आएको छ । समितिलाई धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोको पनि साथ रहेको छ । समितिको अभियानमा सर्वसाधारणले पनि ऐक्यबद्धता जनाउँदै आएका छन् ।
बिहीबार कार्यवाहक नगर प्रमुख भण्डारीसँग भेटेर समितिका सदस्यले सर्वोच्च अदालतले समेत पानी वितरण गर्न बाटो खुला गरेकाले तत्काल पानी खुवाउने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।