नेपाल सरकारले राष्ट्रिय रूपमा ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

वर्षको २ पटक कात्तिक र वैशाख महिनाको पहिलो हप्ता भिटामिन ए र जुकाको औषधी निःशुल्क वितरण गर्ने गरिन्छ । मुख्यतः बालबालिकालाई भिटामिन ए को कमीबाट हुने असरहरूबाट बचाउन, रोग प्रतिरक्षाशक्ति बढाउन, बाल मृत्युदर घटाउन र पोषणयुक्त बालबालिका बनाउन यो कार्यक्रम सञ्चालन गरिँदै आएको छ । वि.स. २०५० सालदेखि सरकारले भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसपटक पनि आज र भोलि देशैभर महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीबाट भिटामिन ए खुवाइँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका आफ्ना बच्चालाई नजिकैको भिटामिन ए वितरण केन्द्र वा स्वास्थ्य संस्थामा लगी भिटामिन ए खुवाई भिटामिन ए खुवाउन सकिन्छ । भिटामिन एसँगै जुकाको औषधी र बालबालिकाको पाखुराको मापन गरी पोषणको अवस्था निर्धारण गरिन्छ । त्यस्तै पोषकतत्व बालभिट्टा पनि वितरण गरिन्छ ।

सरकारको सफल स्वास्थ्य कार्यक्रम
भिटामिन ए खुवाउने राष्ट्रिय कार्यक्रम नेपालको एक सफल जनस्वास्थ्य कार्यक्रम हो । खासगरी ३ तवरबाट यो कार्यक्रमको कार्यान्वयन गरिएको छ । पहिलो, महिला स्वास्थ्य स्वयम्सेविकामार्फत् अर्धवार्षिक रूपमा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम छ । दोस्रो, रतन्धो रोग, दादुरा, दीर्घ रोग, झाडापखला, कडा कुपोषण, आदि रोगबाट ग्रस्त भएकाहरूलाई स्वास्थ्य संस्थाबाट उपचार गर्दा भिटामिन ए वितरण गर्ने कार्यक्रम छ । त्यस्तै, तेस्रो स्वास्थ्य शिक्षा तथा सूचनामार्फत् भिटामिन ए को कमीबाट हुने असरहरूको बारेमा जनचेतना जगाउने साथै भिटामिन ए युक्त स्थानीय खानाको प्रवद्र्धन गर्ने रहेको छ ।

भिटामिन ए को महत्व
मानव शरीरको वृद्धि, विकास र स्वास्थ्यका लागि आवश्यक पर्ने रासायनिक यौगिक नै भिटामिन हो । यिनीहरू कम मात्रामा आवश्यक भए पनि शरीरलाई स्वस्थ राख्न र रोगबाट बच्न भिटामिनको आवश्यक पर्दछ । भिटामिन बी तथा सी पानीमा र भिटामिन ए, डी, ई र के चिल्लो पदार्थमा घुल्ने भिटामिनमा पर्दछन् ।

भिटामिन ए भएका तत्वहरूको सेवनले समग्र रूपमा स्वस्थ रहन र दीर्घरोग विरुद्ध उत्कृष्ट मानिन्छ । दैनिक आहारमा भिटामिन ए को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यस्तै, रतन्धो रोगबाट जोगाउँछ । आँखा तेजिलो बनाउँछ । यतिमात्र होइन, भिटामिन ए ले छाला, श्वासप्रश्वास तथा प्रजनन स्वास्थ्यसम्बन्धी रोग समेत लाग्न दिँदैन । भिटामिन ए को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्दछ । यसको कमीले रतन्धो रोग लाग्छ । त्यस्तै, बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घ रोगहरू देखा पर्दछ ।

भिटामिन ए को प्रयोग
विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग र समस्याहरूको उपचारमा भिटामिन ए को प्रयोग गर्ने गरिन्छ । जस्तैः रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण, छालाको रोग आदि ।

भिटामिन ए को कमी हुँदा हुने लक्षणहरू
छाला सुख्खा हुनु र छालाको पटकपटक सङ्क्रमण हुनु ।
आँखा सुख्खा हुनु ।
राती आँखा देख्न गाह्रो हुनु ।
गर्भधान नहुनु ।
बालबालिकाको ढिलो विकास हुनु ।
पटकपटक छाती तथा घाँटीको सङ्क्रमण हुनु ।
घाउ ढिलो निको हुनु आदि ।

भिटामिन ए को प्रमुख स्रोतहरू
बालबालिकाको ५ वर्ष उमेर भित्रमा मानसिक र शारीरिक विकास तीव्र रूपमा हुने हुँदा पोषणको कमी हुन नदिन भिटामिनयुक्त खानाहरू खुवाउन आवश्यक हुन्छ । भिटामिन ए को महत्वपूर्ण स्रोतहरूमा गाँजर, पालुङ्गो, रायो लगायत हरियो सागसब्जी, पहेँलो जातका फलफूलहरू, माछा, घिउ, अण्डाको पहेँलो भाग, फर्सी, ब्रोकाउली, गोलभेडा आदि पर्छन् ।