इटहरीः वेदान्त अस्पताल र मोरङ–सुनसरी समाजले गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६० जनाभन्दा बढीले लाभ लिएका छन् । सुनसरीको रामधुनी मन्दिरमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
मन्दिरमा पूजा अर्चना गर्न आएका भक्तजनलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो । प्राथमिक उपचारको व्यवस्थासहित पुगेको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । प्रायः ज्येष्ठ नागरिक मन्दिर पुुग्ने हुँदा कुनै स्वास्थ्य जोखिम ननिम्तियोस् भनेर उपचार शिविर राखिएको अस्पतालका सञ्चालक इन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार विशेष स्थानमा पुगेर अस्पतालले निरन्तर सेवा दिँदै आएको छ ।
उनले इटहरीको प्रणामी मन्दिरमा चैत २३ देखि ३० गतेसम्म भएको स्वास्थ्य शिविरमा करीब ५ सय जनाले लाभ लिएको समेत जानकारी दिए । देश विदेशबाट आएका भक्तजनलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा महिला, बालबालिकाले सेवा लिएका थिए ।