झापाः झापाको हल्दीबारी— ४ जलथल ऐनाबारीमा रहेको दीपन्द्र प्राविमा लोपोन्मुख मेचे भाषाको शिक्षण हुने भएको छ ।

हल्दीबारीकै नमूना विद्यालयका रूपमा विकसित हुँदै गएको सो विद्यालयमा शैक्षिक सत्र २०७६ बाट मेचे भाषामा शिक्षण हुने भएको हो । लोपोन्मुख मेचे जातिका ९० प्रतिशतभन्दा बढी बालबच्चा अध्ययनरत सो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यममा पढाइ भइरहेकोमा यस वर्ष कक्षा ४ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउने व्यवस्थापन समितिले जनाएको छ ।

यसैबीच, विद्यालयले वार्षिक परीक्षाफल प्रकाशनको अवसर पारेर अभिभावक अन्तरक्रिया सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेशलाल मेचेको अध्यक्षता भएको थियो । गाउँ शिक्षा समितिका संयोजक तथा हल्दीबारी गाउँपालिकाका उपप्रमुख डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यमा विद्यालय सुधार तथा आगामी रणनीति तयार गर्ने उद्देश्यले अभिभावकसित अन्तरक्रिया सम्पन्न गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेचेले आफू अध्यक्ष भएपछिको विद्यालय सुधारका कार्यहरू प्रस्तुत गर्दै ६ महिनाको अवधिमा बालमैत्री विद्यालय निर्माणका लागि स्तरीय खेल मैदान, पर्याप्त खेल सामग्री, एसी सहितको बाल कक्षा र श्रव्यदृश्य शिक्षण प्रविधिको विस्तारसहितको प्रगति विवरण प्रस्तुत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले शिक्षामा रहेको विभेद अन्त्य गर्न सामुदायिक विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म निःशुल्क स्तरीय शिक्षा दिन ६ करोड ४१ लाख रुपैयाँ गाउँ सभामार्फत विनियोजन गरेको जानकारी दिए । उनले हल्दीबारी क्षेत्रमा हुनेखाने र हुँदा खाने बीचको शैक्षिक भिन्नता नरहने वातावरण बनाउने अभियान थालिएको प्रष्ट पारे ।