इटहरी: भदौ लागेपछि कारोबार भएका तिनै दिनको सेयर बजार ओरालो लागेको छ । नेप्से सूचक मङ्गलबार ४.१८ अङ्कले घटेर ११८३.८९ अङ्कमा आइपुगेको छ । समग्रमा बजार ०.३५ प्रतिशतले ओरालो लागेको हो । कुल १ सय ६१ कम्पनीको १७ करोड ९५ लाख ५८ हजार ९ सय ३० रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत सबै ११ वटा सूचकको कारोबार हुँदा ४ वटा सूचकमा हरियाली छाएको छ । ५ लाख ७० हजार १ सय ७३ कित्ता सेयर किनबेच भएको बजारमा
व्यापार समूहको सूचक सबैभन्दा धेरै १.४४ प्रतिशतले बढेको थियो भने सबैभन्दा कम जलविद्युत समूहको सूचक ०.०४ प्रतिशतले बढेको थियो । त्यस्तै, उत्पादनमूलक समूहको सूचक सबैभन्दा धेरै १.०३ प्रतिशतले घट्दा जीवन बीमा समूहको सूचकमा सबैभन्दा कम ०.०१ प्रतिशतको मात्रै गिरावट आएको थियो ।

कमाउनेमा साल्ट ट्रेडिङ
मङ्गलबारको बजारमा साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै ४.८३ प्रतिशतले कमाउँदा सिन्धु विकास बैंकका लगानीकर्ताले ४.३१ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले २.४४ प्रतिशतले सम्पत्ति कमाएका छन् । अधिक मूल्य बढ्ने ३ वटै कम्पनी फरकफरक समूहका रहेका छन् ।

गुमाउनेमा गोर्खाज् फाइनान्स
मङ्गलबार धेरै सेयरमूल्य घट्ने कम्पनीमा गोर्खाज् फाइनान्स परेको छ । सो कम्पनीको ४.५४ प्रतिशतले सेयरमूल्य झर्दा ग्रीन डेभलपमेन्ट बैंकको ४.४४ प्रतिशत र सहयोगी विकास बैंकको सेयरमूल्यमा ४ प्रतिशतले गिरावट आएको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ८ अर्ब कायम भएको छ ।

कारोबारमा ग्लोबल आइएमइ अघि
कारोबार रकममा ग्लोबल आइएमइ बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको १ करोड १६ लाख ७० हजार २ सय ५१ रुपैयाँको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रिमियर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स परेका छन् । प्रिमियरको ७३ लाख ६६ हजार ४ सय ९४ रुपैयाँको सेयर कारोबार हुँदा प्रभुको ७१ लाख ९ हजार ९ सय ६१ रुपैयाँको सेयर कारोबार भएको थियो ।

सेयर सङ्ख्यामा पनि ग्लोबल आइएमइ अघि
कारोबार रकममा झैं सेयर सङ्ख्याका आधारमा पनि मङ्गलबार ग्लोबल आइएमइ बैंक नै अघि देखिएको छ । सो बैंकको ३९ हजार ९ सय ६५ कित्ता सेयर कारोबार भएको छ । सिटिजन बैंकको १९ हजार १ सय ३७ कित्ता सेयर कारोबार हँुदा सेन्चुरी कमर्सियल बैंकको १६ हजार ४ सय ७७ कित्ता सेयर कारोबार भएको थियो ।

कारोबार सङ्ख्यामा रैराङ अघि
मङ्गलबारको बजारमा रैराङ हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै पटक सेयर कारोबार भएको छ । रैराङको १ सय ३८ पटक कारोबार हुँदा आरम्भ माइक्रोफाइनान्सको १ सय १५ पटक र नेपाल इन्भेस्टमेन्ट बैंकको ९२ पटक सेयर किनबेच भएको थियो ।