इटहरीः गोरखा जिल्लामा ६ मेगावाट क्षमताको दरौँदी ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कालिका पावर कम्पनीले प्राथमिक सेयर आइपिओ बिक्री गर्ने भएको छ ।
सो कम्पनीले १२ करोड रुपैयाँको साधारण आइपिओ बिक्री गर्ने भएको हो । कम्पनीले धितोपत्र बोर्डबाट १ सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आइपिओ बिक्री गर्ने अनुमति पाएको छ ।
कालिकाको सेयर बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल रहेका छन् । गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपिओ कालिकाले बिक्री गरेको थियो ।
कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठेकेदार र अल्पकालीन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दीर्घकालीन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताएको छ । सेयर जारीपछि कम्पनीको चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको आधारभूत पक्षको जाँच गरी रेटिङ गर्ने इक्रा नेपालका अनुसार कालिकाको इक्रा रेटिङ ग्रेड फोर रहेको छ । जसको अर्थ कम्पनीको आधारभूत पक्ष औसतभन्दा पनि कमजोर रहेको देखाउँछ ।
राम्रा कम्पनीको समेत सेयर मूल्यमा गिरावट आइरहेको समयमा सो कम्पनीको आइपिओ आउन लागेको हो ।