धरानः धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्बोच्च अदालतको आदेशपछि प्राडा राजकुमार रौनियारले उपकुलपतीको कार्यभार सम्हालेका छन् ।प्रतिष्ठानमा कार्यकारी उपकुलपती र निमित्त गरि दुई जना उपकुलपती भएपछि अन्यौलता सृजना भएको छ ।

गत फागुन २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको सिनेट बैठकको निर्णय सदर गर्दै रौनियारलाई बर्खास्त गरेका थिए । त्यसका विरुद्ध उपकुलपती प्राडा रौनियारले चैत्र ३ गते सर्बोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाई गर्दै सर्बोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय र स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपती उपेन्द्र यादबले काटेको पत्र अन्तरिम आदेशको टुङगो नलागे सम्म कार्यान्वयन नगर्नु भन्ने आदेश दिएको थियो । आदेश अनुसार प्रतिष्ठानको उपकुलपती रौनियारनै मान्नुपर्ने देखिन्छ ।

उता प्रतिष्ठानको उपकुलपती हुन तिब्र चाहाना राखेका तर स्वास्थ्यमन्त्री उपेन्द्र यादबबाट निमित्त उपकुलपतीको रुपमा प्रशासनिक तथा आर्थिक अधिकार सहित काम गर्नु भनि तोकिएका रेक्टर प्राडा गुरु खनालपनि मन्त्रालयको पत्र अनुसार आफु निमित्त उपकुलपती भएको दावी गर्छन् । तर अदालतको आदेशबारे विज्ञहसँग राय लिई रहेको उनले बताएका छन् ।

अदालतले चैत्र ४ गते नै उपकुलपतीबाट हटाउने निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दिएपनि अदालतको पत्र प्राप्त नभएको भन्दै खनालले चैत्र ५ गते अर्थात मङगलबार प्रतिष्ठानको आर्थिक तथा प्रशासनिक कार्य गरेका थिए । खनालले अदालतको आदेशपछिपनि मङगलबारे चेक काटेका प्रतिष्ठान स्रोतले जनाएको छ ।अदालतको आदेशपछि उपकुलपती रौनियार बुधबार प्रतिष्ठानमा आएर कार्यभार सम्हालेका छन् ।

प्रतिष्ठानमा उनलाई उनी निकटका कर्मचारीहरुले फुल माला र अविर लगाएर स्वागत गरेका थिए । प्रतिष्ठानमा अप्रिय घटना हुन सक्नै अनुमान गर्दै प्रहरीले सुरक्षा ब्यबस्थालाई कडा बनाएको छ ।रौनियारले सुरक्षाकर्मिहरुकै विचमा कार्यभार सम्हालेका छन् ।