धरान / स्वदेश तथा विदेशमा पनि व्यापार बिस्तार गर्न सफल वराह ज्वेलरी इष्डष्ट्रिज प्रालिले भदौ ५ गते २४ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ ।
प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै धरानको भानुचोकमा रक्तदान कार्यक्रमसँगै वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो । वराहका सञ्चालक एवं शाखा प्रमुख मानबहादुर विश्वकर्मा दियालीका अनुसार रक्तदान कार्यक्रम बिहान साढे ६ बजे हुनेछ ।
वराहले विगत केही वर्षदेखि धरानलाई रक्तदाताको शहर बनाउने उद्देश्यले वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । ‘धरानलाई रक्तदाताहरूको शहर बनाउने उद्देश्यले वृहत रक्तदान कार्यक्रम गर्दै आइरहेका छौं, यसपटक १५ सय पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।
वार्षिकोत्सव समारोहमा सम्मानका साथै विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने भएको छ । पत्रकारहरूलाई पुरस्कृत गर्ने तथा वराह डिपार्टमेन्ट स्टोरबाट २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म सामान खरिद गर्ने ग्राहकहरूमध्ये १ जना ग्राहकलाई सुजुकी जिक्सर बाइक उपहार दिने प्रालिले जनाएको छ ।
१ वर्षमा कुल १३ हजार ५ जना ग्राहकले वराहबाट सामान खरिद गरेको वराहले जनाएको छ । ‘हाम्रा नियमित ग्राहक, सामाजिक व्यक्तित्व, पत्रकारिता सम्मान र प्रोत्साहन पुरस्कारहरू प्रदान गर्छाैं,’ प्रमुख दियालीले भने, ‘हामीले उत्पादन गरेका आकर्षक गरगहनाहरू विभिन्न जातीय भेषभुषासहित स्टेजमा शो पनि गर्छौंै ।’
वराहको मुख्य कारोबार सुनचाँदीका पत्थर जडित गरगहना, परम्परागत तथा सांस्कृतिक गरगहनाहरूको व्यापार नै हो । पछिल्लो समय पाटन औद्योगिक क्षेत्रमा इन्द्र वराह ज्वेलरी इण्डस्ट्रिज एण्ड रिसर्च सेन्टर प्रालिबाट प्रोडक्सन हाउसलाई व्यवस्थित गरिएको पनि प्रालिले जानकारी दिएको छ ।
त्यहाँ थप ३ सय जनालाई रोजगारी सिर्जना गरिएको र उत्पादनमा जोड दिइएको प्रालिको भनाइ छ । दक्ष जनशक्ति उत्पादनसँगै गरगहनालाई विदेश निर्यात गरेर पूँजी भित्र्याउने लक्ष्य राखेको प्रालि सञ्चालक दियालीले बताए ।
यसै वर्षदेखि वराह फेमिली किचनको सेवा सुविधालाई फराकिलो बनाउँदै अनलाइन र फोन सिस्टमबाट अर्डर गर्न मिल्ने गरी सुविधा दिइएको वराहले जनाएको छ । किचनमा पाइने हरेक परिकारहरूलाई उपभोक्ताहरूको माग अनुसार निःशुल्क रूपमा पायक पर्ने घरमा होम डेलिभरीको व्यवस्था गरिएको पनि प्रालिले जनाएको छ ।
वराह २०५२ सालमा सामान्य सुन पसलबाट शुरु भएको थियो । धरानबाट शुरु भएको वराहले काठमाडौं, पोखरा, नारायणगढ चितवन हुँदै हङकङ, दुबइ र बेलायतमा पनि सेवा विस्तार गरिसकेको छ । ज्वेलरीसँगै वराहले डिपार्टमेन्ट स्टोर, वराह बचत, रेमिट्यान्स, एम्बुलेन्स, खानेपानी ढुवानी, ट्राभल एण्ड टुर्स, कृषि उपज तथा पशुपालन, फेमिली किचनलगायत विविध क्षेत्रमा लगानी गरेको छ ।