मोरङः मोरङको कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले आफूले गाँउपालीकामा डिजिटल हाजिरी गर्न खोज्दा प्रधानाध्यापकहरूले नै नमानेको बताउँछन् । बुधवार गाँउपालीकाको वडा नम्बर ३ हरकपुरमा रहेको शिक्षा सदन माध्यमिक विद्यालयमा मितेरी विकास बैङ्कको कम्प्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले यस्तो बताएका हुन ।

‘हाम्रो गाँउपालीकाका सामुदायिक विद्यालयमा शिक्षकहरू नियमित आउदैनन, समयमा आउँदैनन् भन्ने गुनासो आयो’, अध्यक्ष काफ्लेले भने, ‘त्यसको समाधान गर्न डिजिटल हारिजी गरौँ भनेको धेरै प्रधानाध्यापकहरूले नै असहयोग गर्नुभयो ।’

आफ्नो गाँउपालीकामा २३ वटा सामुदायिक र २२ वटा संस्थागत विद्यालयहरू रहेको काफ्लेले बताए । २३ वटा सरकारी विद्यालयमा कतै २५ देखी ३० विद्यार्थी र एउटा विद्यालयमा त ६ जना मात्रै विद्यार्थी भएको भन्दै काफ्लेले अब विद्यालयमा मर्जरमा लाने बताए । यो वर्ष दुइटा विद्यालय मर्जर गर्ने बताएका काफ्लेले अरू विद्यालय मर्जरमा पनि शिक्षकहरूकै असहयोग हुने बताए । उनले भने,‘कि विद्यार्थी बढाउनु होस कि मर्जरमा जाऔँ भन्दा शिक्षकहरूले मान्नु भएको छैन ।’

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गइरहेको र घट्नुमा विभिन्न तीन कारण रहेको काफ्लेले बताए । उनका अनुसार निजी विद्यालयको आकर्षण, सहरमा बसाइसराइ र जन्मदर पनि घट्दै गएका सामुदायिक विद्यालयमा विद्यार्थीहरू कम हुँदै गएको काफ्लेले बताए ।