प्रकाशपुरः वराहक्षेत्र नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि भएपछि वराहक्षेत्र नगरपालिकाले नगरासभामार्फत् पूरक बजेट ल्याएको छ ।

फागुन १९ गते भएको तेस्रो नगर सभाले आर्थिक वर्ष ०७५÷७६ मा आन्तरिक आयमा वृद्धि भएसँगै संशोधित पूरक बजेट तथा कार्यक्रम ल्याएको हो ।

गत असार २४ मा बसेको दोस्रो नगरसभाले अनुमान गरेको भन्दा राजस्वमा वृद्धि भएपछि पूरक बजेट ल्याइएको नगरपालिकाकी उपप्रमुख कमला मगरले बताइन् । मगरले भनिन्, ‘नदीजन्य स्रोतमा कम अनुमान गरिए पनि राजस्वमा करिब ३ करोड ६१ लाख वृद्धि हुने देखिएकाले पूरक बजेट ल्याएका हौँ ।’

उपप्रमुखले बजेट पेश गर्ने परिपाटी भए पनि वराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनालले पूरक बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाको नारा ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग र पूर्वाधार, समतामूलक, सुन्दर समृद्ध वराहक्षेत्रको आधार’ रहेको बताउँदै खनालले पूर्वाधार विकासमा नगरपालिका लागिपरेको बताए ।

‘नगरको आन्तरिक आय चालु आव ०७५÷७६ मा ४ दशमलव ७६ प्रतिशतले अर्थात् ३ करोड ६१ लाखले वृद्धि भएसँगै बजेट खर्च स्रोत बढाउनु परेको हो ।’

बेलका र वराहक्षेत्रको सीमा विवाद मिलाउन नगरसभामा प्रस्ताव
तत्कालीन सप्तकोशी नदीलाई आधार बनाएर उदयपुर र सुनसरीको सिमाना छुट्याए पनि नदीको बहाब परिवर्तनका कारण स्थानीय जनतालाई पर्दै गएको असुविधाको बारेमा नगरसभामा विषयले प्रवेश पाएको छ । तत्कालीन अवस्थामा उदयपुर र सुनसरीको सिमाना पश्चिम लालभित्ती भएको प्रसङ्ग उठाउँदै वडाध्यक्ष दीपक लिम्बूले आन्तरिक सीमालाई व्यवस्थित गर्नुपर्ने बताएका थिए ।

‘अहिले वराहक्षेत्र नगरपालिकाको क्षेत्रमा नगरपालिका वा सम्बन्धितलाई जानकारी नदिई धेरै काम भइरहेको छ’, ९ नम्बर वडाका अध्यक्ष लिम्बूले भने, ‘धेरै आन्तरिक आम्दानी गर्न सक्ने क्षेत्र र गैरकानुनी कामलाई निरुत्साहित गर्न पनि सीमाको विषयलाई दुई नगरपालिकाले स्पष्ट बनाउनु पर्दछ ।’

वराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ९ र ६ को बेलकासँग सिमाना जोडिएको छ । वराहक्षेत्र नगरपालिकाको क्षेत्रमा बस्ने भए पनि अधिकांशसँग दोहोरो स्थायी बसोबास भएकाले दुवै नगरपालिकालाई दैनिक काम गर्न समेत असहज हुने गरेको लिम्बूले जानकारी दिए ।

२९ इन्चकी महिलालाई ल्यापटप प्रदान
नेपालकै होची भनेर दाबी गर्दै आएकी प्रकाशपुरकी १७ वर्षीया किशोरी कल्पना कविरथलाई नगरसभाको अवसरमा नगरपालिकाले ल्यापटप प्रदान गरेको थियो । वराहक्षेत्र–९ प्रकाशपुरको जुँगे चोक स्थायी घर भएकी कल्पनाको उचाइ २९ इन्चमात्र रहेको बताउँदै नगरपालिकाका मेयर नीलम खनालले ल्यापटप हस्तान्तरण गरेका हुन् ।

baraha kshetra pradeshportal.com