इटहरीः रामधुनी नगरपालिकाले प्रचलित खरीद सम्बन्धी नियमावलीविपरीत औषधी खरीद गर्ने टेन्डर स्वीकृत गरेको छ । नगरपालिकाले टेन्डर फारम खरीद गर्ने अन्तिम दिन फागुन १६ गतेसम्म राखेको थियो । तर सो दिन सार्वजनिक बिदा भएकाले भोलिपल्ट १७ गते टेन्डर फारम खरीद गर्न गएका व्यवसायीहरूलाई टेन्डर फारम नदिई एकलौटी रूपमा ५ वटा कम्पनीको दरभाउपत्रलाई मात्र स्वीकृति गरेको छ ।

नगरपालिकाले मिति २०७५ फागुन २ गते १५ दिने बोलपत्र फारम खरीद गर्ने सूचना वर्णमाला दैनिकमा प्रकाशित गरेको थियो । सूचनाको अन्तिम मिति १६ गते राखिएको थियो । तर, पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायतको मृत्युको शोकमा सो दिन सरकारले सार्वजनिक बिदा दिएको थियो ।
सार्वजनिक बिदा पर्दा सो को भोलिपल्ट अर्थात १७ गतेसम्म खरीद तथा दर्ता गर्न पाउने कानुनी अधिकार व्यवसायीहरूमा हुँदाहँुदै नगरपालिकाले नियोजित रूपमा ५ वटा कम्पनीबाहेक अन्यलाई बोलपत्र फारम नै बिक्री नगरेको पाइएको छ ।

खरीद नियमावलीमा मात्र होइन नगरपालिकाले वर्णमाला दैनिकमा प्रकाशित गरेको सूचनामा समेत अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट बोलपत्र फारम खरीद गर्न दिने उल्लेख गरिएको छ ।
सूचनाको पहिलो अनुच्छेदको अन्तिम वाक्यमा भनिएको छ, ‘दरभाउपत्र खरीद तथा दर्ता गर्ने दिन सार्वजनिक बिदा परेमा सो दिनको काम सो दिनको भोलिपल्ट क्रमश गरिने छ ।’

तर कार्यालयले आफैँले दिएको प्रावधान मिच्दै औषधी खरीदको प्रक्रिया अगाडि बढाएको हो । १७ गते कार्यालय समयमै फारम खरीद गर्न गएका आधा दर्जन कम्पनीका प्रतिनिधिहरूलाई कार्यालयले रित्तो हात फर्काएको थियो । कार्यालय समयमा ठेक्काफारम खरीद गर्न गएका विराटनगरका सञ्जीव तामाङलाई पनि कार्यालयका कर्मचारीले खाली हात फर्काएका थिए ।
‘पत्रिकाको सूचनाअनुसार नै फारम खरीद गर्न म लगायत धेरै साथीहरू गएका थियाँै’, तामाङले भने, ‘तर चलखेल हो कि के हो कर्मचारीहरूले सूचना गरे अनुसारको फारम नै वितरण गरेनन् ।’

यता, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेल भने नियमअनुसार नै काम भएको बताउँछन् । खरीद नियमावली र सार्वजनिक बिदाको विषयमा शाखा अधिकृत पौडेलले भने, ‘यदि दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा मात्र दर्ता गर्न सकिन्छ तर यत्रो समय हँुदासमेत केही नगर्ने अनि अन्तिम दिनमा आएर दिएन भन्न मिल्दैन ।’

मेयर भन्छन् कानुनमात्र हेर्नु हुँदैन
औषधी खरीद प्रक्रियाको त्रुटिको विषयमा रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी भने सबै विषयमा कानुनमात्र हेर्न नहुने बताउँछन । ‘यत्रो दिन भयो कोही पनि आउँदैन १÷२ वटा भएको भए सजिलो पनि हुन्थ्यो तर अन्तिम दिन एकै चोटी धेरै आएकाले फारम बिक्री नगरेका हौँ ।’
मेयर चौधरीले व्यवसायीहरूलाई आग्रह गर्दै भने, ‘नगरपालिकाले राम्रो तरिकाले औषधी किन्न लागेको मात्र हो त्यसैले व्यवसायी साथीहरू नआत्तिनु होला । भोलि कानुनसम्मत कतैबाट आदेश लिएर आउनुभयो भने त्यसै गरौँला ।’