तेह्रथुमः किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले लिम्बू भाषा पढाइ हुने जिल्लाभरका सामुदायिक विद्यालयमा सरकारी दरबन्दीकै शिक्षक राख्न माग गरेको छ ।

चुम्लुङले शुक्रबार लालीगुराँस नगरपालिकाको वसन्तपुरमा विभिन्न ७ बँुदे मागसहितको ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

स्थानीय स्रोतमा लिम्बू भाषा (आनीपान) पढाउँदै आएका आधारभूत तहका विद्यालयमा सरकारी दरबन्दी तोकेर शिक्षक नियुक्त गर्नसमेत स्थानीय तहसँग चुम्लुङले माग गरेको छ । विद्यालयमा रिक्त रहेका दरबन्दीमा तालीमप्राप्त भाषा शिक्षक नियुक्ति गर्नुपर्ने, लिम्बू भाषाका पाठ्यपुस्तक खरीद गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने चुम्लुङको माग छ ।

लिम्बू भाषालाई सरकारी कामकाज र योग्यताको भाषा बनाइनुपर्ने, सबै स्थानीय तहमा लिम्बू भाषाको दोभाषे राख्नुपर्ने, आवासीय नमूना आधारभूत विद्यालय सञ्चालन गर्नुपर्ने र हाल विद्यालयमा लिम्बू भाषा अध्यापन गराइरहेका शिक्षकलाई दरबन्दीमा रूपान्तरण गरी सेवा सुविधा वृद्धि गर्नुपर्ने चुम्लुङले माग गरेको छ ।

चुम्लुङ अध्यक्ष गणेश सेनेले नगरपालिकाका उपप्रमुख तिला पोखरेललाई ज्ञापनपत्र बुझाए ।

जिल्लाका विभिन्न विद्यालयमा गरी ४ सय ८० लिम्बू समुदायका विद्यार्थीले लिम्बू भाषामा अध्ययन गरिरहेको चुम्लुङका सचिव तेजमान कन्दङ्वाले बताए । मागपत्र बुझ्दै उपप्रमुख पोखरेलले नगर कार्यपालिकाको बैठकमा चुम्लुङका मागबारे छलफल गरिने बताए ।