इलामः श्रम गर्न भारत पुगेका रोङ गाँउपालिका–२ बदमटारका ललित तामाङ दुवै मृगौला फेल भएपछि अहिले जिवन मरणको दोसाधमा छन् । आवश्यक घरखर्च सञ्चालन गर्न अभिभावकलाई सहयोग गर्दै आएका उनी आफै रोगको सिकारमा परेपछि तामाङ परिवार समस्यामा परेको छ ।

चार जना सदस्यमध्ये एक मात्र कमाउने उनी थिए । बाबु आमा दुवै विरामी भएकाले उनको परिवार थप संकटमा परेको छ । २३ वर्षीय छोराको दुवै मृगौला फेल भएर ओछ्यान परेपछि आमा बीबीमाया तामाङले सबैसंग जिवनरक्षाको लागी आग्रह गरेकी छन् । सम्पत्तिको नाममा पाँच रोपनी जग्गा रहेको उनको परिवारमा कमाउने सदस्य नै रोगग्रस्त भएपछी मधुमेह रोगको बिरामी बीबीमायालाई थप गलाएको छ ।

दुई महिनाअघि अचानक शरीर सुन्निनु र पिसाबमा रगत देखिएपछी उपचार गर्न बिर्तामोडस्थित बीएण्डसी हस्पिटल हुँदै ललित बिराटनगरस्थित नोबेल हस्पिटलसम्म पुगेका थिए । नोबेलका डा.शैलेन्द्रकुमार श्रेष्ठले चेकजाँच गर्दा तत्काल नर्मल बताएको उनलाई भारत पश्चिम बंगालको सिलीगुडीस्थित बेंगाल किड्नी केयर सेन्टरमा मृगौला फेल भएको पत्ता लागेको थियो । पुस दोस्रो साता काठमाण्डौंस्थित वीर हस्पिटलमा पुनः स्वास्थ्य परीक्षणका लागि पुगेको उनलाई सम्बन्धित चिकित्सकले पूर्णरुपमा मृगौला फेल भएको र प्रत्यारोपण मात्र अन्तिम उपाय भएको जानकारी दिएको ललित बचाउ अभियानका अध्यक्ष जयबहादुर तामाङले बताए ।

ललित विरामी भएसंगै अर्थिकरुपमा विपन्न तामाङ परिवार थप पीडामा परेको छ 
जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिसमा दाताले मृगौला दान गर्दा प्रत्यारोपण खर्च निःशुल्क भएपनि अन्य आवश्यक उपचारका लागि अनुमानित १० देखि १२ लाख रुपैयाँ लाग्ने अभियानका सहसंयोजक सन्तबहादुर तामाङले बताए । हालसम्म उपचारको क्रममा तीन लाख रुपैयाँ बढी खर्च भइसकेको जनाइएको छ ।

आर्थिक अवस्था अत्यन्त नाजुक भएका तामाङलाई उपचारमा सहयोग गर्ने उद्धेश्यले रोङ–२ का जनप्रतिनिधि सहित शान्तिपुर–झापा एकता समाजले सहयोग अभियान संकलन सुरु गरेको छ । आर्थिक सहयोग संकलन शुरु भएसंगै ललितको उपचार प्रक्रिया थालिएको जनाइएको छ । हालसम्म चार लाख रुपैंया बढी रकम संकलन भइसकेको र विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम शुरु भएको समाजसेवी चन्द्रकान्त पौडेलले जानकारी दिए ।

रोग निको भए समाजको लागि केही सकारात्मक कार्य गर्ने इच्छा व्यक्त गरेका ललितलाई बचाउन अभियानमार्फत् सहयोग संकलन शुरु गरिएको शान्तिपुर–झापा एकता समाजका उपाध्यक्ष शेखर कार्कीले जानकारी दिए । ललितलाई सहयोग गर्न इच्छुक महानुभावहरुले ग्लोबल आईएमई बैंकको खाता नम्बर ५८०७०१०००५४५१ मा सहयोग रकम जम्मा गर्न सक्ने तथा सम्पर्क नम्बर ९८४३८४८१४९, ९८४४६४०५२८ र ९८२४०५८४७९ मा सम्पर्क गर्न सबैसँग आव्हान गरेका छन् ।

ललितलाई बचाएर नयाँ जीवन प्रदान गरिदिन रोङ–२ का वडाध्यक्ष टेकबहादुर तामाङले आग्रह गरेका छन । उनले देश तथा विदेशमा रहेका सबै सहयोगि संघ–संस्थासंग आर्थिक सहयोग गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।