इटहरीः हलेसी तुवाचुङ नगरपालिकाले भूमि प्रशासन सेवा सुरु गरेको छ। भूमि तथा मालपोतसम्बन्धी कामका लागि सदरमुकाम दिक्तेल धाउनुपर्ने स्थानीयवासीको बाध्यता हटाउन नगरपालिकाले भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको हो।
भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुने सेवामध्ये ‘बायोमेट्रिक’ बाहेक सबै काम स्थानीय तहबाटै प्रदान गर्ने गरी सेवा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले बताइन्। जिल्लाको दोस्रो ठूलो स्थानीय तह (एघार वडा रहेको) यो नगरपालिकाले सोमबारदेखि सो सेवा सञ्चालनमा ल्याएको हो। सेवा सञ्चालनमा आएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।
जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका भूमि प्रशासन सम्बन्धी सेवा सुरु गर्ने पहिलो स्थानीय तह बनेको छ। नेपालको संविधानले भूमिसम्बन्धी केही अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार र जनशक्तिको अभावमा यसअघि सम्बन्धित कार्यालयबाटै सेवा प्रवाह हुँदै आएको थियो।
भूमि प्रशासन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार भूमि शाखामार्फत राजीनामा, हक निस्सा राजीनामा, दर्ता, सगोलनामा, हालसाबिक, बकसपत्र, त्यसपछिको बकसपत्र, सट्टापट्टालगायतका सेवा प्रदान गरिनेछ।
त्यस्तै अंशबन्डा, अंश भरपाई, अंश छोडपत्र, करारनामा, मञ्जुरिनामा, अख्तियारनामा तथा घरबहाल करलगायतका सेवा उपलब्ध हुनेछन्।
नापी कार्यालयअन्तर्गत कित्ता नापी, नक्सा प्रिन्ट तथा बिक्री, कित्ता कार्ड, कित्ता एकीकरण, जग्गा छुट्याउने तथा नक्सामा घर, बाटो वा अन्य पूर्वाधार कायम गर्ने लगायतका सेवा प्रवाह गरिने छ।
सशस्त्र द्वन्द्वका क्रममा मालपोत कार्यालयमा आगजनी हुँदा भूमिसम्बन्धी पुराना अभिलेख जलेका कारण हाललाई प्रणालीमा अभिलेख प्रविष्ट भई स्रेस्ता कायम भएका तथा डिजिटल जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका जग्गाधनीको हकमा मात्रै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह हुने अधिकृत कार्कीले बताए।
सिस्टममा अभिलेख नदेखिएको अवस्थामा स्रेस्ता कायम गर्न भने सेवाग्राही दिक्तेल पुग्नुपर्ने बाध्यता कायमै रहेको भूमि प्रशासन कार्यालयले जनाएको छ।
विश्वप्रसिद्ध धार्मिकस्थल हलेसीमा पर्ने यो नगरपालिकामा बजार विस्तार तीव्र गतिमा भइरहेको छ। भूमि प्रशासनको काम नै स्थानीय तहबाट हुने भएपछि स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ।




















