ढल्केबरः  डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमा छापा हानेर ठुलो परिमाणमा अवैध काठ बरामद गरेको छ । वन कार्यालयले सोमबार साँझ विश्वकर्मा चोक नजिकै रहेको कमला भेनियर उद्योगमा छापा हानेर ६७५ क्युफिट सिमल जातको काठ बरामद गरेको हो ।


डिभिजन वन कार्यालय धनुषाका डिभिजनल वन अधिकृत विनोद सिंहका अनुसार उद्योग परिसरबाट ७८ थान सिमल जातको काठ बरामद गरिएको हो । बरामद काठको स्रोत तथा आयातसम्बन्धी आवश्यक कागजात उद्योग सञ्चालकले तत्काल देखाउन नसकेपछि काठ नियन्त्रणमा लिइएको उनले बताए ।


सिंहका अनुसार विशेष सूचनाका आधारमा सब–डिभिजन वन कार्यालय पुष्पवलपुर र डिभिजन वन कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले उद्योगमा छापा मारेको थियो । छानबिनका क्रममा उद्योग परिसरमा ठुलो परिमाणमा सिमलको काठ भण्डारण गरी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए ।


बरामद काठको वैध स्रोत खुल्ने कागजात तथा अनुमति भए–नभएको विषयमा थप अनुसन्धान भइरहेको छ । काठ कहाँबाट ल्याइएको हो, कसले आपूर्ति गरेको हो र उद्योगमा भण्डारणका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो कि थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको डिभिजनल वन अधिकृत सिंहले बताए । बरामद काठ वन कार्यालयको नियन्त्रणमा राखिएको छ ।