इटहरीः सरकारले हरित जलवायु कोषको अनुदान सहयोगमा उच्च जोखिममा रहेका कोशी र गण्डकी जलाधारका चारवटा हिमतालको पानी घटाएर पूर्वसूचना प्रणाली जडान गरी जोखिम न्यूनीकरण गर्ने परियोजना सुरु गर्ने भएको छ । ५० मिलियन अमेरिकी डलर (हालको विनियमअनुसार सात अर्ब ६७ करोड नेपाली रुपैयाँ)को सातवर्षे परियोजनालाई ‘ग्लोफ सञ्जीवनी’ नाम दिइएको छ । परियोजनाबाट संवेदनशील तटीय क्षेत्रका करिब २३ लाख नागरिक लाभान्वित हुने अनुमान छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनमा उच्च जोखिममा रहेका २१ हिमतालमध्ये प्राथमिकताका आधारमा चार हिमतालको पानीको सतह घटाउने परियोजना अघि बढाइएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक राजन भट्टराईले बताए । उनका अनुसार सोलुखुम्बुको लुम्डिङ छ्यो र होङ्गुु–२, मनाङको थुलागी तथा संखुवासभाको तल्लो बरुणमा पानी घटाउने परियोजना छ ।
चालू आर्थिक वर्ष ०८३र८४ र आगामी आर्थिक वर्षमा विस्तृत अध्ययनसहित तयारीका काम गरेर दुई वर्षपछि तालको पानी घटाउने लक्ष्य रहेको उनले बताए । ‘यो वर्ष तयारीसम्बन्धी काम हुन्छ । यसअघि अनुदान ल्याउने योजनाका साथ परियोजना डिजाइन गरेका थियौँ । अब तालको पानी, पूर्वसूचना प्रणाली र नेचुरबेस्ड सोलुसनका विषयमा विस्तृत अध्ययन हुन्छ,’ केन्द्रका उपकार्यकारी निर्देशक भट्टराईले भने, ‘तेस्रो वर्षदेखि तालको पानी घटाउने काम सुरु गर्ने लक्ष्य छ ।’
सात वर्षसम्म सञ्चालन हुने परियोजनाअन्तर्गत चार हिमतालको पानीको सतह नियन्त्रित रूपमा घटाउने योजना छ । ‘हिमनदी पग्लिँदै जाँदा हिमतालको पानीको सतह बढ्छ । त्यसमाथि हिमपहिरो वा ठुलो हिमखण्ड तालमा खस्दा पानी एक्कासि बाहिरिएर विनाशकारी बाढी आउन सक्छ,’ भट्टराईले भने, ‘घटाउनुको कारण तालमा पानीको मात्रा र दबाब कम गर्नु हो । पानीको सतह पहिले नै घटाइएमा त्यस्तो घटनाबाट बाहिरिन सक्ने पानीको मात्रा कम गर्न सकिन्छ र बाढीको सम्भावित प्रभाव घटाउन सकिन्छ ।’
यसका लागि तालको अवस्था अध्ययन गरी नियन्त्रित निकास, निकास मार्ग सुधार, साइफन वा आवश्यक अन्य इन्जिनियरिङ प्रविधि प्रयोग गर्न सकिन्छ । कुन हिमतालमा कुन प्रविधि अपनाउने भन्ने विषय भने विस्तृत प्राविधिक अध्ययन र डिजाइनपछि टुंगो लाग्ने उनले बताए ।
पानी घटाउने कामसँगै परियोजनाले हिमताल तथा नदी प्रणालीको निरन्तर अनुगमन र पूर्वसूचना प्रणाली विस्तार गर्नेछ । जोखिमको सूचना समयमै तल्लो तटीय बस्तीमा पुर्याउन सकिएमा मानिसलाई सुरक्षित स्थानमा सार्न र जलविद्युत्, सडक, पुललगायतका पूर्वाधारमा हुने क्षति कम गर्न सकिने अपेक्षा छ ।
उपकार्यकारी निर्देशक भट्टराईका अनुसार पानीको सतह घटाउने कामको नेतृत्व अनुसन्धान केन्द्रले गर्नेछ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा पूर्वसूचना प्रणालीलाई नागरिक तहसम्म पुर्याउनेछ । वन तथा भूसंरक्षण विभागले नदीको तल्लो तटीय (बाढीको जोखिम रहेका) क्षेत्रमा चेकड्याम तथा ग्याबियन पर्खाल, वृक्षरोपणको काम गर्नेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वातावरणीय प्रभाव मूल्यांकनसहितमा सहयोग गर्नेछ भने परियोजना सञ्चालन गर्दा सम्बन्धित पालिकासँग सहकार्य हुनेछ । त्यस्तै, पूर्वसूचना प्रणाली राख्न आवश्यक पर्ने जग्गा व्यवस्थापनलगायत विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)सँग सहकार्य हुनेछ । नेपाल पर्यटन बोर्ड पनि साझेदार छ ।
तालको पानी घटाउने कामका लागि हरित जलवायु कोषले ३ जुलाई २०२५ परियोजना स्वीकृत गरेर ३६.१ मिलियन अमेरिकी डलर अनुदान दिने निर्णय गरेको थियो । यो परियोजनामा ११.८९ मिलियन डलर नेपाल सरकारको लगानी रहनेछ भने युएनडिपीको २.१४ मिलियन सहलगानी हुनेछ । परियोजनाका लागि युएनडिपीले प्राविधिक सहायता प्रदान गर्ने सम्झौता भइसकेको छ । सरकारले पनि सरकारले चालू आवको बजेटमा १३ करोड बजेट सुनिश्चित गरेको छ । तर, उक्त बजेट यो वर्ष खर्च हुनेछैन । किनकि यो वर्ष परियोजना तयारीका काम हुनेछन् ।
कसरी छनोट भए यी चार हिमताल, कति घटाइनेछ पानी ?
जोखिम न्यूनीकरणका लागि चारवटा थुलागी, तल्लो बरुण, लुम्डिङ छ्यो र होङ्गु–२ हिमताल छनोटको कारणबारे जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक राजन भट्टराईलाई सोधेका छौँ । भट्टराईका अनुसार इसिमोड र युएनडिपीको सन् २०२० मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार नेपालमा उच्च जोखिममा रहेको भनिएका २१ मध्ये दुईवटा च्छो–रोल्पा र इम्जामा पानीको सतह यसअघि घटाइसकिएको छ । ‘पहिलो र दोस्रो नम्बरमा रहेका तालको पानी घटाइसकेकाले अब तेस्रोदेखि छैटौँसम्मका ताल छानिएका हुन् । तालको आकार, गहिराइ र जोखिमलाई आधार बनाइएको हो ।’ हिन्दकुश हिमालय क्षेत्रमा ४७ ठुला हिमताल उच्च जोखिममा छन् । तीमध्ये नेपालमा २१, चीनमा २५ र भारतमा एउटा छ ।
विस्तृत अध्ययन हुन बाँकी छ । तर, यसअघि दोलखाको च्छो रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानी घटाइएको नजिरलाई आधार मानिनेछ । ‘इम्जामा ३।४ र च्छो रोल्पामा ३ मिटर पानी घटाएका थियौँ । यी चार तालमा पनि त्यही हाराहारीमा घटाउने योजना छ,’ केन्द्रका उपकार्यकारी निर्देशक भट्टराईले भने । सन् २०१६ मा इम्जामा पानी घटाउन जल तथा मौसम विज्ञान विभागले दुईपटक टेन्डर गर्दा पनि परेन । त्यसपछि नेपाली सेनालाई जिम्मा दिइएको थियो । पूर्वसूचना प्रणाली भने विभागले राखेको थियो । ‘यसपटक पनि टेन्डर नै हुन्छ,’ भट्टराईले भने ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक राजन भट्टराई भन्छन्–यो वर्ष तयारीसम्बन्धी काम हुन्छ । यसअघि अनुदान ल्याउने योजनाका साथ परियोजना डिजाइन गरेका थियौँ । अब तालको पानी, पूर्वसूचना प्रणाली र नेचरबेस्ड सोलुसनका विषयमा विस्तृत अध्ययन हुन्छ । तेस्रो वर्षदेखि तालको पानी घटाउने काम सुरु गर्ने लक्ष्य छ । हिमनदी पग्लिँदै जाँदा हिमतालको पानीको सतह बढ्छ । त्यसमाथि हिमपहिरो वा ठुलो हिमखण्ड तालमा खस्दा पानी एक्कासि बाहिरिएर विनाशकारी बाढी आउन सक्छ । घटाउनुको कारण तालमा पानीको मात्रा र दबाब कम गर्नु हो । पानीको सतह पहिले नै घटाइएमा त्यस्तो घटनाबाट बाहिरिन सक्ने पानीको मात्रा कम गर्न सकिन्छ र बाढीको सम्भावित प्रभाव घटाउन सकिन्छ ।
कुन तालको अवस्था के छ ः
थुुलागी (मनाङ)ः मनास्लु हिमशृंखलाको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने थुलागी हिमतालको क्षेत्रफल ०.९ वर्गकिलोमिटर छ । ८१.६ मिटर गहिरो रहेको यो तालमा ३ करोड ५७ लाख घनमिटर पानी रहेको अनुमान छ भने अतिजोखिमयुक्त सूचीमा छ ।
थुुलागी हिमनदी पग्लिएर यो हिमताल बनेको हो । यो तालबाट बहने पानी मस्र्याङ्दी नदीमा मिसिन्छ । मस्र्याङ्दी गण्डकी जलाधार क्षेत्रमा पर्छ । मानव बस्तीसँगै जलविद्युत् आयोजना, सडक, पुलमा क्षति पुग्ने इसिमोडको प्रतिवेदनमा उल्लेख छ ।

लुम्डिङ च्छो (सोलुखुम्बु)ः खुम्बु क्षेत्रमा रहेको लुम्डिङ च्छो हिमताल दुधकोशी उपत्यकामा छ । यसको नदी बेसिन कोशी हो भने उपवेसिन दुधकोशी हो । लुम्डिङ हिमनदी पग्लिएर बनेको यो हिमतालको आकार बढिरहेको छ । यो तालको क्षेत्रफल १.२६ वर्गकिलोमिटर फैलिसकेको छ ।
प्रतिवेदनअनुसार माथिल्लो क्षेत्रमा रहेको हिमनदी र भिरबाट हिमपहिरो वा चट्टान तालमा खस्न सक्ने जोखिम छ । लुम्डिङ च्छो फुटेमा दुधकोशी नदीकिनारका बस्ती, जलविद्युत् आयोजना, पदमार्ग र पुलमा क्षति पुग्न सक्छ । यो तालको ६ सय मिटरमाथि अर्को सानो ताल लुम्डिङ च्छो छ । जुन फुटेमा लुम्डिङ च्छोमा खस्न सक्छ ।
होङ्गु–२ (सोलुखुम्बु)ः होङ्गु २ हिमताल सोलुखुम्बुको होङ्गु उपत्यका (मकालु बरुण राष्ट्रिय निकुञ्ज)मा पर्छ । यो हिमतालको मोरिन (ढुंगा र माटोको प्राकृतिक बाँध)कमजोर हुँदै गएकाले फुट्ने जोखिम छ ।
यो ताल कोशी जलाधार क्षेत्रअन्तर्गत पर्छ । यो हिमताल फुटेमा होङ्गु उपत्यका, मकाकुलुङ गाउँपालिकासँगै तल्लो तटीय क्षेत्रमा क्षति पुर्याउन सक्छ । यो तालको क्षेत्रफल ०.९६ वर्गकिलोमिटर छ ।

तल्लो बरुण (संखुवासभा)ः वरुण मकालु वरुण राष्ट्रिय निकुञ्जअन्तर्गत वरुण उपत्यकामा छ । हिमनदी तीव्र रूपमा पग्लिएर बिलाउँदै जाँदा यो ताल ठुलो बन्दै गएको छ । सन् १९७९ मा ०.३ वर्गकिलोमिटर क्षेत्रफल मात्र रहेको यो ताल अहिले २.६ वर्गकिलोमिटरभन्दा ठुलो भइसकेको छ । यो तालमा ११ करोड २३ लाख घनमिटर पानी सञ्चित छ । यो तालमाथि माथिल्लो बरुण छ ।
कुनै कारणले माथिल्लो बरुण फुटेमा वा हिमपहिरो खसेमा प्रत्यक्ष असर तल्लो बरुणमा पर्न सक्छ । यसरी दुवै ताल फुटेमा बरुण नदीको ८५ किलोमिटर तल्लो तटीय क्षेत्रसम्म बाढी आउन सक्छ । यसले बरुण बजार, जलविद्यत् आयोजना, सडक, पुल बगाउन सक्छ । यसअघि सन् २०१७ मा बरुण क्षेत्रको लाङमाले हिमताल फुट्दा बरुण बजारमा क्षति गरेको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।




















