धरानः  धरान–८ तीनकुनेस्थित श्री श्री १०८ बाबा विश्वकर्मा मन्दिरमा असोज १ गते सम्पन्न विश्वकर्मा पूजाको आय–व्यय सार्वजनिक गरिएको छ।


मन्दिर व्यवस्थापन समितिले पूजाका क्रममा भक्तजन तथा श्रद्धालुबाट प्राप्त दान–दक्षिणा र भएको खर्चको विवरण सार्वजनिक गरेको हो।


समितिका अनुसार विश्वकर्मा पूजाका अवसरमा विभिन्न शीर्षकबाट कुल २ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ। जसमध्ये मोनी बाबा धुनाबाट ५० हजार, विश्वकर्मा, हनुमान तथा गणेश मूर्तिमा भक्तजनबाट प्राप्त दानबाट ६७ हजार ५ सय, मन्दिर विकासका लागि १ लाख ३२ हजार, राम दरबार, दुर्गा मन्दिर तथा शिव मन्दिरको भेटीबाट २० हजार र अन्य दान तथा आम्दानीबाट १३ हजार ५ सय रुपैयाँ संकलन भएको समितिले जनाएको छ।


त्यस्तै, पूजाका क्रममा साधु–सन्त बिदाइका लागि ३० हजार ६ सय रुपैयाँ तथा प्रसादलगायतका खर्चमा १० हजार रुपैयाँ गरी कुल ४० हजार ६ सय रुपैयाँ खर्च भएको छ।


आम्दानी र खर्च कटाएर मन्दिरको कुल २ लाख ४२ हजार ४ सय रुपैयाँ बचत भएको समितिले जनाएको छ।


मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुभाष श्रेष्ठ र सचिव गणेश प्रतिम्सिनाद्वारा जारी प्रेस विज्ञप्तिमा मन्दिरको आय–व्ययलाई पारदर्शी र व्यवस्थित रूपमा सार्वजनिक गर्ने उद्देश्यले विवरण सार्वजनिक गरिएको उल्लेख छ।


समितिले विश्वकर्मा पूजा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन, श्रद्धालु, दाता तथा सहयोगी महानुभावप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।