गाईघाटः उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं। २ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईँका अनुसार मादक पदार्थ सेवन गरी घरायसी विवादको क्रममा ४५ वर्षीया विमला राईलाई धारिलो हतियार हँसियाले गर्दनमा प्रहार गरेका थिए ।
शनिबार मरणासन्न हुनेगरी घाइते बनाएर आफैँ अस्थाई प्रहरी पोष्ट माडिबास पुगी जानकारी गराएको चापागाईँले जानकारी दिए ।
घटनापछि प्रहरी टोलीले घाइते विमलालाई उद्धार गरी उपचारको लागि नगर अस्पताल बेल्टार पठाएकोमा उपचारको क्रममा गएराति १ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनापछि गन्दुरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















