इटहरीः सुनसरीको कोशी गाउँपालिका–६ मन्सुरी टोलबाट प्रहरीले भन्सार छली ल्याइएको करिब १० लाख रुपैयाँ बराबरको अवैध कुखुराको मासुजन्य सामग्री बरामद गरी नष्ट गरेको छ।


जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब १०ः३० बजे वेवारिसे अवस्थामा ती सामग्री फेला पारेको हो।


प्रहरीका अनुसार बरामद सामग्रीमा ४७१ प्याकेट चिकेन सिक कबाब, ४०३ प्याकेट चिकेन बर्गर प्याटी, २०६ प्याकेट चिकेन नगेट्स, ५५४ प्याकेट चिकेन फिंगर र ५२४ प्याकेट चिकेन मिटबल रहेका छन्।


यसरी विभिन्न पाँच प्रकारका गरी कुल २ हजार १ सय ५८ प्याकेट अवैध मासुजन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ।


बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गरी जिल्ला पशु स्वास्थ्य कार्यालय सुनसरी, इनरुवामा लगेर नष्ट गरिएको छ।


उक्त अवैध सामान कहाँबाट ल्याइएको र कसको संलग्नता रहेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।