काठमाडौँः विगत १५ वर्षदेखि अलपत्र र रुग्ण आयोजनाका रूपमा रहेको धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन यस पुलको बाँकी कामले तीव्रता पाएसँगै आगामी दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमार्फत सो जानकारी गराएका छन्।
पूर्वाधार विकास मन्त्रालयले मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण, निरन्तरको अनुगमन र कानुनी विवाद समाधान गरेपछि निर्माणले गति लिएको हो । ठेकेदार कम्पनी र बिमा कम्पनीबिचको कानुनी विवादका कारण आयोजना लामो समयदेखि रुग्ण अवस्थामा थियो ।
अहिले पुलको भौतिक प्रगति ९५ प्रतिशत पुगेको जनाइएको छ । मन्त्री लम्सालले उल्लेख गरेका छन्, “नदीमा भाँचिएको १० औँ नम्बरको पिल्लर उठाउने काम सम्पन्न भएको छ भने तल्लो संरचनाको ढलान कार्यसमेत सकिएको छ । पुलको फाउन्डेसनसहित तीन वटा पिल्लरको सबलीकरणको काम सम्पन्न भइसकेको छ । अब मुख्य संरचनाको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी छ । आगामी हप्ता नदीमा पानीको सतह घटेपछि सो कामसमेत सम्पन्न हुने छ ।”
धनुषातर्फ पुलसम्मको पहुँच सडकका लागि माटो भरिए पनि वर्षाको पानीले बगाएर क्षति पुगेको छ । नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम सम्पन्न गरिने छ । सिराहातर्फ पुलको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ । यसै गरी पुलको भार (लोड) परीक्षणको काम सफलतापूर्वक सम्पन्न भइसकेको छ ।




















