इटहरीः कोशी प्रदेश सरकारले असोज ३ गते मनाइने संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोहको सम्पूर्ण तयारी पूरा गरेको छ। विराटनगरस्थित शहीद रंगशालामा आयोजना हुने मूल समारोहको तयारी पूरा भएको कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिएका छन्।
मन्त्री शेर्पाका अनुसार असोज ३ गते बिहान ६ः३० बजे विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयअगाडि भेला भई प्रभातफेरी आयोजना गरिनेछ। प्रभातफेरीपछि शहीद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल समारोह आयोजना हुनेछ।
मूल समारोहको प्रमुख आकर्षणका रूपमा विभिन्न १६ जातजाति तथा भाषाभाषीका सांस्कृतिक झाँकी प्रतियोगिता आयोजना गरिनेछ। त्यसैगरी खेलकुद प्रदर्शन, प्रसिद्ध कलाकारहरूबाट राष्ट्रिय गीत प्रस्तुति, पुरस्कार वितरणलगायत कार्यक्रमसमेत हुनेछन्।

संविधान दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न कार्यक्रमसमेत आयोजना गरेको छ। असोज २ गते बिहान प्रदेश खेलकुद बोर्डको आयोजनामा ‘कोशी दौडन्छ’ रोड रेस तथा म्याराथन दौड सम्पन्न भएको छ। उक्त दौडको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए।
यसैगरी सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका’ विषयक खुला निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका दुर्गाप्रसाद नेपाल प्रथम भएका छन्। काठमाडौंकी रविना महर्जन द्वितीय र धादिङका सम्राट श्रेष्ठ तृतीय भएका छन्।

प्रतियोगितामा ओखलढुंगाकी निहारिका धमला, संखुवासभाकी सावित्रा पन्त सुवेदी र इटहरीकी अनुशा रावतले सान्त्वना स्थान हासिल गरेका छन्।
संविधान दिवसकै अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगितासमेत आयोजना गरिने भएको छ। यस्तै, असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान कार्यक्रम तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षरोपण कार्यक्रम आयोजना गरिनेछ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने सम्पूर्ण कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको छ।





















