सप्तरीः सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका २४ वर्षीय अभिनन्द यादव घरबाटै अपहरणमा परेको भन्दै आफन्त र स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। सोमबार राति करिब १२ बजे ६–७ जनाको समूह घरमा आएर परिवारका सदस्यलाई पेस्तोल देखाउँदै सुतिरहेका अभिनन्दलाई नियन्त्रणमा लिएर लगेको उहाँका काका अमोद यादवले जानकारी दिए ।
घटनाबारे प्रहरीलाई खबर गर्दा पनि तत्काल सुनुवाइ नभएको भन्दै आक्रोशित आफन्त र स्थानीयवासीले मङ्गलबार बेल्हीस्थित प्रहरी चौकी घेराउ गरेका हुन्। उनीहरूले अभिनन्दको तत्काल खोजी गरी अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।
बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले गाउँमै प्रहरी चौकी र सशस्त्र प्रहरीको बीओपी हुँदाहुँदै घरबाटै युवकलाई अपहरणको शैलीमा लगिनु गम्भीर विषय भएको बताए । उनले अभिनन्दको तत्काल खोजी गरी घटनाबारे परिवारलाई जानकारी गराउन सप्तरी प्रहरीसँग आग्रह गरे।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले युवकको खोजी भइरहेको जानकारी दिए। उनका अनुसार प्रारम्भिक रूपमा अभिनन्द भारतमा गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले नियन्त्रणमा लिएर गएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको छ।
प्रहरी नायब उपरीक्षक घिमिरेले पेस्तोल बोकेको समूह घरमा आएको भन्ने विषयमा भने प्रहरीलाई जानकारी नभएको बताउनुभयो। सप्तरी प्रहरीले भारतीय पक्षबाट भएको भनिएको नियन्त्रण तथा घटनाबारे थप विवरण प्राप्त गर्न समन्वय भइरहेको जनाएको छ। यो खबर आज प्रकाशित गोरखापत्र दैनिकबाट लिइएको हो ।




















