काठमाडौँः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक परीक्षणका रूपमा आजदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ।


भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो क्षेत्र कटान गरेपछि भदौ १४ गते सडक भासिएको थियो। भासिएको सडकभन्दा केही माथि भित्तो कटान गरेर नयाँ ट्र्याक खोली आजदेखि परीक्षणका रूपमा एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो।


सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी रहेको सडक दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने सडक निर्माणमा खटिएका अधिकारीहरुले बताएको हाम्रा धादिङ सहकर्मी शिव सडक सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सडक पार गराइएको छ।



तत्कालका लागि ग्यास बुलेट र ट्रकहरू मात्र सञ्चालन गरिनेछ।  तत्काललाई सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालनमा ल्याइएको भएपनि सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने बताइएको छ।


कृष्णभीरमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै काठमाडौं आउने–जाने सवारीसाधनको आवागमन प्रभावित भएको थियो। सडक बन्द भएपछि यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिँदा यात्रुहरूले सास्ती खेप्नुपरेको थियो भने दैनिक उपभोग्य सामग्री तथा अन्य सामानको ढुवानीसमेत प्रभावित भएको थियो। वैकल्पिक मार्ग सीमित भएकाले लामो दूरीका यात्रुले घुमाउरो बाटो प्रयोग गर्नुपरेको थियो।


कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं, धादिङ, चितवन, पोखरालगायतका क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने भएको छ। सडक अवरुद्ध हुँदा रोकिएका तथा वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य सवारीसाधन बाटो निर्माण सम्पन्न भएसँगै नियमित सञ्चालनमा आउनेछन्। यससँगै यात्रुको समय र खर्च बचत हुनुका साथै दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीको ढुवानीसमेत सहज हुने अपेक्षा गरिएको छ ।