चितवनः चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक पुरुषको जलेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा उक्त घटना भएको हो।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो। कारमा आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका हुन्। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।
आगलागीबाट कारसमेत पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान गर्ने कार्य भइरहेको छ भने आगलागीको कारणबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाका सम्बन्धमा थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।




















