काठमाडौँः जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार काभ्रेपलान्चोक पनौतीस्थित रोशी खोलाको बाढी बढेको छ । रोशी खोलाको बाढी बढेको र सतर्कता तह पार गरेको हुँदा नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दा बिहानसम्म सतर्क रहन समेत महाशाखाले अनुरोध गरेको छ ।
यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति छ प्रदेशको विभिन्न भूभागमा भारी वर्षाको सम्भावना छ ।महाशाखाका अनुसार बागमती प्रदेशको हिमाली र पहाडी भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बिहीबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भवना छ ।
बिहीबार र शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेस प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।




















