काठमाडौँः गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सपना पूरा गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । 


गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको स्मरणमा जेनजी सहिद परिवार कल्याणकारी समाजले तत्कालीन सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।


उनले सम्पूर्ण जेनजी युवा पुस्तालाई सरकारप्रति ढुक्क रहन आग्रह गर्दै भने, “सम्पूर्ण जेनजी युवा पुस्ता ढुक्क हुनुहोस्, मुलुकमा सुशासन कायम भई भ्रष्टाचार अन्त्य हुन्छ। हाम्रा माग र सपना पूरा नहुन देशमा अर्को एउटा गोली चल्नुपर्छ, त्यो पनि मेरो शिरबाट।”


गृहमन्त्री गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विश्वास गरेर जेनजी पुस्ताको आशालाई मर्न नदिने बताए ।


जनताले विश्वास गरेर आफूलाई जिम्मेवारीमा पुर्‍याएको उल्लेख गर्दै उनले त्यसको सम्मानस्वरूप सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि आफूले हरसम्भव प्रयास गरिरहेको बताए ।


“म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, जबसम्म मेरो यो ज्यानमा प्राण छ, कुनै नेपालीलाई दुःख हुन दिने छैन,” उनले भने ।


गृहमन्त्री गुरुङले लोकतन्त्र स्थापना भइसकेको अवस्थामा युवाहरूले आफ्नो आवाज उठाउँदा तत्कालीन सरकारले त्यसको जवाफ गोलीबाट दिनुपर्ने अवस्था आउनु दुःखद भएको बताए।


कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गरेर जनतालाई थप अप्ठ्यारोमा पारेको अवस्थामा जेनजी आन्दोलन भएको बताए ।


“त्यतिबेला जनतामा एक प्रकारको आक्रोश पैदा भइरहेको थियो। हामी संसद् भवनभित्र लड्दै थियौँ। जेनजी आन्दोलनको एक मात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश थियो,” उनले भने । 


युवाहरूले सुशासनका पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै मन्त्री गौतमले आन्दोलनमा अमर भएका सहिदहरूको विचार युगौँसम्म जीवित रहने बताए ।


उनले भदौ २३ र २४ गतेका घटनालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे। “पहिला २३ गतेको घटना भएको हो, त्यसपछि मात्रै २४ गते भएको हो। २३ गतेको घटनामा कोही पनि युवा सत्ता पल्टाउँछु भनेर सडकमा गएका थिएनन्, सुशासनको माग गरेर सडकमा गएका थिए। त्यसकारण २३ गते र २४ गतेलाई एउटै आँखाले हेर्न मिल्दैन,” उनले भने।


मन्त्री गौतमले जेनजी युवाले उठाएका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसको कार्यान्वयनका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गरे।


कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार र शिव यादव, जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठ तथा जेनजी नेपालका अध्यक्ष बादल राईलगायतले जेनजी आन्दोलनका क्रममा युवाहरूले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका माग पूरा गर्न सरकारसँगै सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए