काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा र नुवाकोटका बाढी प्रभावित विद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म निरन्तरता दिने बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रबाट आएको हिमपहिरोका कारण भोटेकोशी नदीमा लेदोसहित आएको आकस्मिक बाढीले रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको उल्लेख गरेका छन्।
उनका अनुसार बाढीपछि आयोजना क्षेत्रमा धेरै मानिस सम्पर्कविहीन भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जोखिमपूर्ण अवस्थामा समेत खोज तथा उद्धार कार्य जारी राखेको छ। खोजीमा भारत, चीन र कोरियाबाट आएका विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन्।
प्रधानमन्त्री शाहले रसुवागढी जलविद्युत् आयोजनामा सुरुङभित्र २७५ मिटरसम्म नेपाली सेना पुगे पनि हालसम्म मानिस फेला नपरेको र हेलिकप्टरबाट मिनी एस्काभेटर पुर्याएर खोजी जारी राखिएको बताएका छन्।
त्यस्तै, लाङटाङ जलविद्युत् आयोजनामा सुरुङभित्रबाट दुई शव फेला पारिएको छ भने चिलिमे जलविद्युत् आयोजनामा पनि करिब ९० मिटरभित्र प्रवेश गरी दुई शव फेला पारिएको उनले जानकारी दिएका छन्।
माथिल्लो त्रिशूली–१ आयोजनामा एक शव फेला परेको, एक जनाको उद्धार गरिएको र थप दुई शव फेला पारिएको प्रधानमन्त्री शाहको भनाइ छ।
त्रिशूली–३ ‘ए’ आयोजनामा बाढीपछि पुरिएको सुरुङ पत्ता लगाउन ६ वटा एस्काभेटर प्रयोग गरिएको थियो। सोही सुरुङमार्फत उद्धार टोली भित्र प्रवेश गरी भदौ १९ गते दुई जनाको उद्धार गरिएको र एक शव फेला पारिएको उनले बताएका छन्। अहिले थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरामार्फत खोजी भइरहेको छ।
त्यसैगरी, त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धार टोली अडिट सुरुङभित्र १.७ किलोमिटरसम्म पुगेको र त्यहाँ एउटा गाडी फेला परेको छ। बाढीले पुरिएका आयोजनाका ६ आवासीय र एक कार्यालय भवनको समेत उत्खनन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले सीमित स्रोत, साधन र समयका बाबजुद खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा विदेशी विशेषज्ञ टोलीले गरिरहेको प्रयासलाई नेपालीको मानवतावादी भावनाको व्यवहारिक उदाहरणका रूपमा उल्लेख गरेका छन्।




















