नुवाकोटः  त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीका विभिन्न पुलमा क्षति पुगेर यातायात अवरुद्ध भएपछि सडक डिभिजन नुवाकोटले वैकल्पिक सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात सञ्चालनमा ल्याएको छ।


रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले बाढीबाट प्रभावित मुख्य सडक तथा पुलको विकल्पमा विभिन्न चार वटा वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको हो। सडक सञ्चालनमा आएपछि धादिङ, नुवाकोट र रसुवाबीचको यातायात सम्पर्कलाई सहज बनाउन सहयोग पुगेको छ।


पृथ्वी राजमार्ग–धादिङबेसी वैकल्पिक मार्ग अन्तर्गत मास्टारदेखि त्रिशूली पुल पार गर्दै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसीसम्म करिब १५ किलोमिटर सडक सञ्चालनमा ल्याइएको छ। यस मार्गले धादिङको गल्छी र सिद्धलेक क्षेत्रलाई सेवा दिने जनाइएको छ।


त्यस्तै, त्रिशूली पार क्षेत्र जोड्ने करिब ४० किलोमिटर वैकल्पिक मार्ग समेत सञ्चालनमा ल्याइएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुल पार गरेपछि नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिमलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजार र किस्पाङ गाउँपालिकाको सीमासम्म यातायात सञ्चालन गरिएको हो। यसबाट धादिङको सिद्धलेक तथा नुवाकोटका तारकेश्वर, विदुर र मेघाङ क्षेत्र लाभान्वित हुनेछन्।


देवीघाट–तादी खोला पुलको विकल्पमा ३५ किलोमिटर सडक पनि सञ्चालनमा ल्याइएको छ। देवीघाटस्थित क्षतिग्रस्त तादी खोला पुलको विकल्पका रूपमा पिपलटार–धमले–निरञ्जना–बाघखोर–हर्रे–देउराली–कोल्पुटार सडकमार्फत चारपाङ्ग्रे सवारी सञ्चालन गर्न मिल्ने बनाइएको छ। उक्त मार्गले नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रलाई जोड्नेछ।


रसुवासँगको यातायात सम्पर्क कायम राख्न १२ किलोमिटर वैकल्पिक मार्ग पनि सञ्चालनयोग्य बनाइएको छ। त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि मध्यपहाडी राजमार्गको ढिकुरे हुँदै फेदी, बेसीचोक, हिरामुनिटार, चोगते, बोरेभञ्ज्याङ, सानोखोला, धनस्वारा, भोर्ले, जिबजिबे र बोगटीटारसम्मको नुवाकोट खण्ड मर्मत गरी सञ्चालनयोग्य बनाइएको हो। रसुवा खण्डमा भने मर्मत कार्य जारी रहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार सडक डिभिजन नुवाकोटले आपत्कालीन अवस्थामा विभिन्न उपकरण परिचालन गरी सडक खुलाउने, पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार गर्ने तथा ग्राभेल राख्नेलगायतका काम निरन्तर गरिरहेको छ।


बाढीका कारण मुख्य राजमार्ग तथा पुलमा भएको क्षतिले यातायात प्रभावित बनेका बेला वैकल्पिक सडक सञ्चालनमा ल्याएसँगै प्रभावित क्षेत्रका नागरिक तथा अत्यावश्यक सामग्रीको आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।