काठमाडौंः भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधारको पुनःस्थापना तथा जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई तीव्रता दिइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःसुचारु गर्ने, उद्धार तथा राहतमा समन्वय गर्ने र क्षतिग्रस्त विद्युत् संरचनाको पुनर्निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको हो।
मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र पूर्वाधार विकास मन्त्रीसमक्ष नेपाली सेनाले उद्धार अभियानको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेको छ। ब्रिफिङका क्रममा मन्त्रीद्वयले आगामी उद्धार रणनीतिबारे छलफल गर्नुका साथै जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारको प्रगतिबारे जानकारी लिएका छन्।
मन्त्रालयका अनुसार रसुवाका नौकुण्ड, कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सुचारु भइसकेको छ। बाँकी क्षेत्रमा मर्मत तथा पुनःस्थापना कार्य तीव्र पारिएको छ भने आवश्यक स्थानमा वैकल्पिक व्यवस्थामार्फत विद्युत् सेवा विस्तार भइरहेको छ।
त्यस्तै, नुवाकोटको किस्पाङ गाउँपालिकामा अवरुद्ध विद्युत् सेवा आवश्यक स्रोत, साधन र प्राविधिक जनशक्ति परिचालन गरी मर्मत तथा पुनःस्थापना गरेर पुनःसुचारु गरिएको मन्त्रालयले जनाएको छ।
हाकु क्षेत्रमा नयाँ ११ केभी लाइन निर्माण गरी छिट्टै विद्युत् सेवा विस्तार गर्ने तयारी भइरहेको छ। बाढीबाट क्षतिग्रस्त वितरण तथा प्रसारण संरचनाको पुनर्निर्माणका लागि नयाँ पोल, लाइन तथा अन्य आवश्यक पूर्वाधार निर्माण र जडानको काम पनि तीव्र पारिएको छ।
यसैबीच, जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना, भारतीय सेना, कोरियन विज्ञ तथा सम्बन्धित आयोजनाका इन्जिनियरहरू सम्मिलित संयुक्त टोलीले निरन्तर खोज तथा उद्धार गरिरहेको छ। टोलीले सुरुङभित्र विभिन्न स्थानमा पुगेर रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने काम गरिरहेको मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल विद्युत् पहुँच पुर्याउन वैकल्पिक ऊर्जाको प्रयोगलाई समेत प्राथमिकता दिइएको छ। संस्थागत सौर्य विद्युत् प्रणाली तथा २० वाट पिक क्षमताका घरेलु सौर्य विद्युत् प्रणाली नुवाकोटको विदुरबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वयमा पूर्वनिर्धारित स्थानमा ढुवानी तथा जडान गर्ने काम भइरहेको छ।
त्यसैगरी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल सौर्य विद्युत् उत्पादक संघबीच भएको बैठकले भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि नेपालमा उपलब्ध सौर्य ऊर्जा प्रणालीका विभिन्न प्रविधि तथा प्राविधिक जनशक्तिको विस्तृत विवरण भदौ १९ गतेसम्म केन्द्रमा उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उद्धार, विद्युत् पुनःस्थापना तथा वैकल्पिक ऊर्जामार्फत प्रभावित क्षेत्रमा सेवा विस्तारका कामलाई समन्वयात्मक रूपमा अघि बढाइएको जनाइएको छ।




















