काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपा पार्टी सचिवालयको आज बसेको बैठकले बाढीपछिको अवस्थाबारे समीक्षा गर्दै विपद्मा परेका नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितलाई राहत सामग्रीको न्यायोचित वितरणमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेको हो।

बैठकले राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकारद्वारा सञ्चालन भइरहेका उद्धार तथा राहत कार्यमा पार्टीका सम्पूर्ण संरचनाबाट भइरहेको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ।
त्यसैगरी, सरकारका सकारात्मक तथा परिणाममुखी कदममा सहयोग पुर्याउन रास्वपासहित अन्य राजनीतिक दल सहभागी सर्वदलीय संयन्त्रमार्फत संस्थागत सहयोग जुटाउन पहल गर्ने निर्णय गरिएको प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले पार्टीको आर्थिक सुशासन र व्यवस्थापनमा योगदान पुर्याएको भन्दै निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई धन्यवाद ज्ञापन गरेको छ। नवनियुक्त कोषाध्यक्ष डा। मनोहर प्रधानलाई पद तथा गोपनीयताको शपथ गराउँदै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको छ।
यसै अवसरमा सहमहामन्त्री पुरुषोत्तम शुभ्रप्रभात यादव, प्रवक्ता जगदीश खरेल तथा नवमनोनित सचिवालय सदस्यहरू शिशिर खनाल, गणेश पराजुली, दीपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा र शिव नेपालीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई पार्टी सभापति रवि लामिछानेले शपथ गराएका हुन्।
रास्वपाले नयाँ कोषाध्यक्षको कार्यकालमा पार्टीको आर्थिक व्यवस्थापन थप सुदृढ, पारदर्शी र चुस्त हुने विश्वास व्यक्त गरेको छ।




















