इटहरीः सरकारले परियोजनाका सञ्चालकलाई पनि उद्धारको अनुमति दिएपछि लाङटाङ जलविद्युत्को सुरुङमा परियोजनाका प्राविधिकसहित सेनाले गरेको खोजीमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएको छ । पेनस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी प्वाल बनाइएकामा बिहीबार उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्द्धक विजयमोहन भट्टराईले बताए ।

बाढी गएको आठौँ दिन अर्थात् मंगलबारदेखि परियोजनाका प्राविधिकको सहयोगमा सेनाले उद्धार अघि बढाएको थियो । बुधबार प्वाल बनाउँदा भित्रबाट केही गन्ध आएकाले श्रमिकहरू फसेको ठाउँ पहिचान भएको निष्कर्षमा पुगिएको भट्टराईले बताए । सरकारले सुरुमै परियोजनाका प्राविधिकलाई साथ नलिँदा ढिला गरी हुने उद्धारको नतिजा कस्तो आउँछ भन्न नसकिने उनको भनाइ छ । 

‘सेनाले सुरुमै हामीसँग सहकार्य गर्नुपर्ने थियो । किनकि, सुरुङ कस्तो थियो र कसरी उद्धार गर्न सकिन्छ भन्ने सैद्धान्तिक तथा प्राविधिक ज्ञान हाम्रा प्राविधिकसँग थियो,’ उनले भने, ‘ढिला गरी हामीलाई उद्धारमा सहभागी गराएपछि बुधबार श्रमिकहरू फसेको क्षेत्र पत्ता लगाउन सफल भएका छौँ । अब भोलि भित्र छिरेपछि यकिन अवस्था के छ थाहा होला ।’

यस सम्बन्धमा सेनाले औपचारिक जानकारी गराएको छैन । सेनाको सूचनामा उद्धार जारी रहेको मात्रै उल्लेख छ । ‘हामीले उद्धारलाई मिसनकै रूपमा अघि बढाएका छौँ, उद्धार कार्य जारी रहन्छ,’ सेनाका प्रवक्ता राजाराम बस्नेतले भने । परियोजनाका ४१ जना सम्पर्कविहीन भएकामा सोमबार एउटा शव भेटिएको थियो । लाङटाङ परियोजनामा १५० मिटर लामो ‘एक्सिस’ सुरुङ छ । 

माथिल्लो त्रिशूली १ मा उद्धारका लागि कोरियाबाट आयो ४४ जनाको टोली

तीन सयभन्दा धेरै सुरुङमा फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली १ मा उद्धारका लागि कोरियाबाट ४४ जनाको टोली बुधबार आइपुगेको छ । सम्भवतः टोली बिहीबारदेखि उद्धारमा खटिनेछ । कोरियाकै लगानीमा निर्माणाधीन यो परियोजनामा ९ कोरियाली नागरिक बेपत्ता छन् ।

मंगलबार हाकुस्थित बाँधबाट प्रवेश गरेको नेपाली सेनाको उद्धार टोलीले १६० मिटरभित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो । त्यस्तै हाकुबेँसीमा विदेशीसहितको संयुक्त उद्धार टोली २६० मिटर भित्रसम्म पुगेर खोजी गर्दा केही फेला नपरेको नेपाली सेनाले जनाएको छ । बुधबार दिनभर हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ । मुख्य सुरुङमा २५ मिटर, एक्सेस टनेल १ बाट करिब १५० मिटर  र एक्सेस टनेल २ बाट करिब २० मिटर गएपछि पानी भएको डिसेन्टर बेसिनसम्म पुगेको थियो । १० किमि लामो सुरुङ रहेको यो परियोजनामा सुरुङभित्र अनुमानित ३०० सहित कुल ५५७ श्रमिक कर्मचारी सम्पर्कविहीन छन् ।

कठिन बन्दै माथिल्लो त्रिशूली ३ ‘ए’ र ३ ‘बी’को उद्धार

अन्य परियोजनाको तुलनामा माथिल्लो त्रिशूली ३ ‘ए’मा उद्धारको मिहिनेत बढी भएको देखिन्छ । तर, विभिन्न विकल्प अपनाउँदा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन । मंगलबार इनलेट टनेलमा बनाइएको होलबाट भित्र छिर्न असम्भव भएपछि आउटलेटबाट अर्को होल बनाउन लागिएको थियो । तर, आउटलेटमा पनि लेदो भरिएको भेटिएपछि पन्छाउने काम भइरहेको छ ।

‘त्रिशूली ३ ‘ए’मा नेपाली सेनासहितको ९३ जनाको संयुक्त उद्धार टोलीले ४ एक्स्काभेटर र एउटा ‘बबकाट’बाट माटो पन्छाएर कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङपछि टनेलको आउटलेटमा लेदो भरिएको हुँदा बबकाटद्वारा माटो फाल्ने कार्य गरी अगाडि रहेको चट्टान ब्लास्टिङको कार्य भइरहेको छ,’ सेनाले भनेको छ । यो परियोजनामा ४२ जना सम्पर्कविहीन भएकामा सुरुङभित्र ३५ जना फसेका छन् ।

त्यस्तै, २१३ जना सम्पर्कविहीन भएको त्रिशूली ३ ‘बी’मा पनि प्रगति देखिएको छैन । मंगलबार आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएकामा बुधबार त्यसक्षेत्रमै खोजी भएको सेनाले जनाएको छ । ‘त्रिशूली ३ बीमा नेपाली सेनाका ६१, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी बबकाटसहित अफिस र क्याम्प एरिया पहिचान तथा खोजी गरिरहेको छ,’ सेनाले भनेको छ । बुधबार काठमाडौंबाट थप दुई एक्स्काभेटर पठाइएकामा बिहीबारदेखि परिचालन गरिनेछ ।

चिलिमेको सुरुङमा साउन्ड डिटेक्टरबाट मनिटरिङ सुरु

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा साउन्ड डिटेक्टरबाट मनिटरिङ सुरु गरिएको छ । मंगलबार परियोजनाको सुरुङ पूर्ण रूपमा भरिएको भेटिएपछि बुधबार साउन्ड डिटेक्टरबाट मनिटरिङ थालेको हो । ‘चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन र विदेशीसहितको संयुक्त टोली १५० मिटरमा पुगी टनेल बन्द भएको अवस्थामा फेला परेको र साउन्ड डिटेक्टरबाट मोनिटर गर्ने कार्य भएको छ,’ सेनाले भनेको छ । ८ जना सुरुङमा फसेको अनुमान गरिएको यहाँको खोजीमा भारतीयसहित २६ जनाको टोली छ । निरन्तरको वर्षाले नदीमा पानीको सतह बढिरहेकाले उद्धारमा सोचेअनुरूप प्रगति हुन नसकेको चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक बाबुराजा महर्जनले जानकारी दिए ।

रसुवागढीलगायतमा पनि छैन प्रगति 

गत सोमबार सुरुङको २५० मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत्गृहतर्फ खोजी थालिएको छ । मंगलबार एक्स्काभेटर झिकाइए पनि भोटेकोशीमा पानीको बहाब बढेर निरन्तर कटान गरिरहेकाले विद्युत्गृह रहेको स्थानमा एक्स्काभेटर बोकेको हेलिकोप्टर ल्यान्ड नै हुन नसकेको इन्जिनियर भरत गुरागाईंले जानकारी दिए । ९३ जना सम्पर्कविहीन भएको यहाँ नेपाली सेनासँगै चिनियाँ टोली पनि छ ।

त्यस्तै, मैलुङ खोला हाइड्रोमा मंगलबार रेकी भए पनि बुधबार कुनै काम हुन सकेन । यहाँ सातजना सम्पर्कविहीन छन् । रसुवा भोटेकोशी जलविद्युत्का चार, त्रिशूली जलविद्युत्का तीन, देवीघाट जलविद्युत्का एक र मिडिल त्रिशूलीका दुईजना सम्पर्कविहीन छन् । त्यस्तै, त्रिशूली ३ ‘बी’ हब सबस्टेसनका १६, चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइनका दुई र रसुवा वितरण केन्द्रका एकजना सम्पर्कविहीन छन् । उनीहरूको खोजी हुन सकेको छैन ।  यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।