इटहरीः रसुवामा बाढीपछि सम्पर्कविहीन भएका करिब चार हजार तीन सयजनाको खोजी तथा उद्धारमा २१ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । तर, उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार जनशक्ति पर्याप्त भए पनि विपत्मा प्रयोग हुने आवश्यक उपकरण तथा स्रोत–साधनको अभाव मुख्य चुनौती बनेको छ ।

ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि आवश्यक स्रोत–साधन र उद्धार उपकरणको अभावमा खोजी तथा उद्धार प्रभावकारी बनाउन कठिन भइरहेको सुरक्षाकर्मीले बताएका छन् । अधिकारीहरूका अनुसार बाढी प्रभावित क्षेत्रमा लगाउने बुट, विभिन्न औजारदेखि जिपिएस लोकेटरसम्मको अभाव छ । 


नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रूपमा खोज तथा उद्धारमा खटिएका छन् । खोज तथा उद्धारमा आठ हजार ८९७ सैनिक, सात हजार ९०९ नेपाल प्रहरी र चार हजार २०३ सशस्त्र प्रहरी परिचालित छन् । बाढीपछि सुरक्षाकर्मी परिचालन भएको छैटौँ दिनसम्म पनि धेरै नागरिक सम्पर्कविहीन छन् । 


बाढीग्रस्त क्षेत्रमा बेपत्ताको खोजीदेखि शव व्यवस्थापन र राहत वितरणसम्मको जिम्मेवारी सुरक्षाकर्मीले सम्हालिरहेका छन् । जिम्मेवारीअनुसारको स्रोत–साधन भएको भए उद्धारको काम अझै छिटो हुन  सक्ने उनीहरूको भनाइ छ । 


बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीलाई लगाउन बुटसमेत पर्याप्त नभएको एक प्रहरी अधिकारीले बताए । ‘सामान्य बुट लगाएर जाँदा हामी आफैँ फस्ने अवस्था छ । बाढीमा लगाउने बुटको व्यवस्थापनसमेत हुन सकेको छैन,’ ती अधिकारीले  भने । 


नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले न्यूनतम स्रोत–साधनबाट अधिकतम नतिजा दिने गरी प्रहरी परिचालित भएको बताए । ‘बुटदेखि धेरै सामानको कमी छ । तर, हामीसँग जे छ, त्यसैको अधिकतम सदुपयोग गरेर खटिएका छौँ,’ उनले  भने ।


यस्तै, सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले उद्धार सामग्रीको अभाव भए पनि विभिन्न संस्थाबाट सहयोग प्राप्त भइरहेको बताए । ‘संस्थाहरूबाट ठुला ड्रोन सहयोग आएका छन् । त्यस्ता ड्रोन खाद्यान्नदेखि औषधिसम्म ओसार्न प्रयोग भइरहेका छन्,’ उनले सुनाए । उनका अनुसार विपत्मा उद्धारका लागि सशस्त्र प्रहरीसँग विभिन्न सामग्री रहे पनि बाढीले ठुलो क्षति पुर्‍याएकाले अहिले कतिपय उपकरणको अभाव भएको छ । 


अर्कोतर्फ बाढीले सडकमा धेरै क्षति पुर्‍याएको र क्षतिग्रस्त क्षेत्रमा पुग्न पनि सुरक्षाकर्मीलाई कठिन भएको छ । सोमबारदेखि रसुवाका दुर्गम क्षेत्रमा बल्ल हेलिकोप्टरबाट थप सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् । 


प्रविधि र स्रोत–साधनको अभावकै कारण जलविद्युत् क्षेत्रका सुरुङभित्रको उद्धारमा कठिनाइ भइरहेको छ । त्रिशूली थ्री ‘ए’को सुरुङभित्र अझै सुरक्षाकर्मी प्रवेश गर्न सकेका छैनन् । यसमा भारतीय, चिनियाँ र कोरियन विज्ञ नयाँ प्रविधिसहित आए पनि सफलता मिलेको छैन । 


यद्यपि, सैनिक प्रवक्ता राजाराम बस्नेत स्रोत–साधनको ठुलो समस्या नभएको बताउँछन् । ‘उद्धारमा स्रोत–साधनकै समस्या छैन,’ उनी भन्छन्, ‘हामी केही अत्याधुनिक प्रविधिहरूसमेत प्रयोग गरेर खटिएका छौँ ।’ 


सरकारले खोज तथा उद्धारका लागि विभिन्न देशसँग थप स्रोत–साधन मागेको छ । चीनले ठुलो ड्रोन दिँदै छ भने भारतलगायत देशबाट उद्धारमा प्रयोग हुने विभिन्न औजार आउने क्रममा रहेको गृह मन्त्रालयका अधिकारी बताउँछन् । 


सरकारले सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न उनीहरूलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रतिदिन एक हजार खर्च, ५० प्रतिशत प्रोत्साहन भत्ता र बिमा गर्ने निर्णय गत साताको मन्त्रिपरिषद् बैठकले गरेको छ । 


खोज तथा उद्धारमा सुरक्षा निकायले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरिरहेका छन् । यो वर्ष ड्रोनको प्रयोग धेरै गरिएको छ । बाढी प्रभावित क्षेत्रको अवलोकनदेखि सुरुङभित्रको अवस्था बुझ्न ड्रोनको प्रयोग गरिएको छ । 


त्यस्तै, सशस्त्र प्रहरीले सामान ओसार्न पनि ड्रोनको प्रयोग गरिरहेको छ । त्यस्तै, शवको खोजीका लागि तालिमप्राप्त कुकुरहरू बाढी प्रभावित क्षेत्रमा लगिएको छ । सिएसएआर (कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु) र रोप रेस्क्युको पनि उपयोग भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी कार्की बताउँछन् । 


टिमुरेमा एकैदिन भेटिए ६१ शव 

बाढीको छैटौँ दिन रसुवाको टिमुरे क्षेत्रमा खोज तथा उद्धारको कामले तीव्रता पाएको छ । एकैदिन सो क्षेत्रमा ६१ वटा शव भेटिएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले हेलिकोप्टरमार्फत थप जनशक्ति लगिएसँगै खोज तथा उद्धारलाई तीव्रता दिइएको र ठुलो संख्यामा शव भेटिएको बताए । 


एक–दुईवटा घरबाहेक टिमुरे बजार बाढीले बगाएको छ । बजार क्षेत्रको भग्नावशेषमा ठुलो संख्यामा शव भेटिएका हुन् । सो क्षेत्रमा सोमबारदेखि फरेन्सिकसहितको टोली पनि खटिएको छ । त्यहाँ भेटिएका शवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो । 


बाढीले सडक सञ्जाल भत्काएका कारण रसुवाका विभिन्न क्षेत्रमा ६ दिनपछि बल्ल खोज तथा उद्धार हुन थालेको हो । ती क्षेत्रका कार्यालयसहितकै प्रहरीसमेत बाढीले बगाएपछि उद्धारको काममा ढिलाइ भएको थियो । रसुवाका अझै पनि कतिपय स्थानमा सुरक्षाकर्मी पुग्न नसकेको स्थानीयको गुनासो छ । 


सम्पर्कविहीनको परिवारको डिएनए नमुना लिन सुरु 

बाढीमा सम्पर्कविहीन भएकाहरूको शव सनाखतका लागि प्रहरीले डिएनए जाँचको प्रक्रिया अघि बढाएको छ । संकलन भएका सबै शवको यसअघि प्रहरीले डिएनए नमुना लिइसकेको छ । अब उनीहरूका परिवारको डिएनए नमुना ल्याएर ‘म्याचिङ’ गराइने प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए । 


यसैबिच प्रहरीले सोमबार सूचना जारी गरी डिएनए नमुना उपलब्ध गराउन सम्पर्कविहीनका परिवारलाई आग्रह गरेको छ । नेपालमा नेपाल प्रहरीको प्रयोगशाला तथा राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा डिएनए परीक्षण हुन्छ । डिएनए परीक्षण खर्चिलो र धेरै समय लाग्ने प्रहरी अधिकारी बताउँछन् । 


हाल प्रहरीले शवको डिएनए नमुना लिएर अस्थायी व्यवस्थापन गरिरहेको छ । करिब तीन सय शव ‘एयरटाइट’ प्लास्टिकमा प्याक गरेर जमिनमुनि गाडिएको छ । डिएनए म्याचिङबाट सनाखत भएमा निकालेर अन्तिम दाहसंस्कारका लागि आफन्तलाई दिइने सरकारको तयारी छ । यो समाचार आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।