इटहरीः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ।
संघीय तथा स्थानीय सरकारको समन्वयमा सञ्चालन गरिएका ती आश्रयस्थल तथा राहत केन्द्रबाट आइतबार मात्रै ३ हजार ४ सय ५४ जना प्रभावितले अस्थायी आश्रय तथा राहत सामग्री प्राप्त गरेका छन्।
नुवाकोटमा मात्रै २ हजार २ सय ७४ जना प्रभावितलाई १६ वटा अस्थायी आश्रयस्थल तथा शिविरमा व्यवस्थापन गरिएको छ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई उनीहरूको क्षेत्रअनुसार विभिन्न सुरक्षित स्थानमा राखिएको छ।
विदुर नगरपालिका–क्षेत्रमा तुप्चेका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ। त्रिशूली–ढुंगे क्षेत्र तथा सिमचौरका प्रभावितलाई सेफहाउस तथा किरियापुत्री भवनमा व्यवस्थापन गरिएको छ। बेत्रावतीका प्रभावितका लागि स्वास्थ्य चौकी, बट्टार क्षेत्रका लागि कवर्ड हल तथा देविघाट क्षेत्रका लागि आयुर्वेद वैकल्पिक चिकित्सालयमा अस्थायी आश्रयस्थल सञ्चालन गरिएको छ।
यसैगरी बेत्रावती–भैँसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी माध्यमिक विद्यालयमा तथा त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलोनी कवर्ड हल, भैरुम माध्यमिक विद्यालय, रिमालडाँडा र इन्द्रायणी आविमा बनाइएका शिविरमा राखिएको छ।
विदुर–३ देविघाट–सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर–९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा माध्यमिक विद्यालयमा आश्रय दिइएको छ।

बेलकोटगढीको रातमाटे–जिलिङ क्षेत्रका प्रभावितलाई महादेव माध्यमिक विद्यालयमा राखिएको छ। किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएको छ। रसुवाका केही प्रभावितलाई समेत बट्टारस्थित तामाङ प्लाजामा आश्रय दिइएको छ।
उद्धारका क्रममा घाइते भएकाहरूको उपचारका लागि पनि विभिन्न स्थानमा स्वास्थ्य टोली परिचालन गरिएको छ। विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ स्थित महादेव माध्यमिक विद्यालय र विदुर–९ स्थित शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध गराइएको छ।
रसुवामा १० आश्रयस्थल
बाढीको मुख्य प्रभाव परेको रसुवामा पनि उद्धार तथा राहत वितरणलाई तीव्र बनाइएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै १ हजार १ सय ८० जना विपद् प्रभावित नागरिकले आश्रय लिएका छन्।
स्थानीय तहसँगको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ तथा आमाछोदिङ्मो गाउँपालिका–१ र २ अन्तर्गत हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन्।

त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–१, २, ३ र ५ अन्तर्गत थुमन, दालफेदी, खैदी, वृद्धिम, लिङलिङ र स्याफ्रुबेँसीमा पनि अस्थायी आश्रयस्थल सञ्चालन गरिएको छ। आमाछोदिङ्मो गाउँपालिका–१ र २ का हाकु, पाङ्ग्रङ र ग्रे क्षेत्रमा समेत प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखिएको छ।
हेलिकप्टरबाट राहत वितरण
भौगोलिक विकटताका कारण सडकमार्गबाट पुग्न कठिन भएका रसुवाका अधिकांश प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउने काम भइरहेको छ। राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान नरहेको जनाइएको छ।
बाढी तथा पहिरोका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएपछि प्रभावित बस्तीमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री पुर्याउन हवाई माध्यमलाई प्राथमिकता दिइएको हो।
विभिन्न स्थानमा स्वास्थ्य टोली परिचालन
बाढी प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवाका लागि रसुवाका विभिन्न स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

धुन्चेस्थित रसुवा जिल्ला अस्पतालबाट प्रभावितको उपचार भइरहेको छ। स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टोली तथा रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी उपचार सेवामा सक्रिय छन्। हेलिक्षेत्रमा नेपाली सेनाको स्वास्थ्य टोलीसमेत परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा थप मानवीय क्षति हुन नदिन तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासन र सुरक्षा निकायले उच्च सतर्कताका साथ खोजी, उद्धार, राहत तथा स्वास्थ्य उपचारको कामलाई निरन्तरता दिएका छन्।
भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएपछि राज्यका विभिन्न निकायले उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्। प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामसमेत जारी रहेको छ।



















