इटहरीः रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि राहत वितरण तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले नागरिक, स्वयंसेवी संस्था तथा सरोकारवालालाई सरकारी संयन्त्रसँग समन्वय गरेर मात्र राहत तथा उद्धारमा सहभागी हुन आग्रह गरेको छ।
प्रधानमन्त्री सचिवालयले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्न नागरिक तथा सामाजिक संस्थाले देखाएको तत्परता सराहनीय रहेको जनाएको छ। तर, पूर्वसमन्वयविना साना निजी सवारीसाधनमा थोरै–थोरै राहत सामग्री बोकेर व्यक्तिगत रूपमा प्रभावित क्षेत्रतर्फ जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र ट्राफिक जाम सिर्जना भएको जनाएको हो।
सचिवालयका अनुसार यसका कारण आपत्कालीन बिरामी बोकेका एम्बुलेन्सलाई सहज रूपमा आवतजावत गर्न समस्या भएको छ। साथै, नेपाल सरकारका मुख्य उद्धार टोली तथा प्राथमिकताका राहत सामग्री बोकेका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न कठिनाइ भइरहेको छ।
विषम परिस्थिति र जोखिमयुक्त भूगोलमा आवश्यक पूर्वतयारीबिना पुग्दा राहत तथा उद्धारमा खटिने स्वयंसेवकको सुरक्षामा समेत जोखिम बढेको सचिवालयले जनाएको छ।
त्यसैले उद्धार तथा राहत कार्यलाई थप भद्रगोल र जोखिमयुक्त हुन नदिन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने कार्य रोक्न र सरकारी संयन्त्रसँग समन्वय गर्न सचिवालयले आग्रह गरेको छ।
अबदेखि राहत वितरण वा उद्धारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी पूर्वसमन्वय गरेर मात्र राहत सामग्री हस्तान्तरण वा परिचालन गर्नुपर्ने सचिवालयले जनाएको छ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले क्षेत्रगत आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्रीलाई एकीकृत रूपमा प्रभावित स्थानसम्म पुर्याउने व्यवस्था मिलाउने जनाइएको छ।
प्रधानमन्त्री सचिवालयले नागरिक तथा सामाजिक संस्थाको सद्भाव र सहयोगको भावनाको सम्मान गर्दै राज्यको आधिकारिक संयन्त्रमार्फत अनुशासित र व्यवस्थित रूपमा राहत उपलब्ध गराई उद्धार कार्यमा सहयोग गर्न सबैमा अपिल गरेको छ।




















