इटहरीः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुराबाट तीन दिनदेखि बेपत्ता भएकी तीन वर्षीया बालिका गरिमा चौधरी मङ्गलबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार भक्तिटोलस्थित विगत करिब पाँच महिनादेखि खाली रहेको वीरबहादुर रोक्काको घरभित्र बालिकाको शव नग्न अवस्थामा फेला परेको हो । घटनास्थलमा बालिकाले लगाएका भित्री वस्त्रसहित अन्य कपडासमेत भेटिएका छन् ।
स्थानीय मनोज चौधरी र मनमती चौधरीकी छोरी गरिमा आइतबार बिहान करिब ८ः३० बजे बस्तीको बिचबाटै अचानक बेपत्ता भएकी थिइन्। परिवार तथा स्थानीयवासीले व्यापक खोजी गर्दा पनि फेला नपरेकी बालिका मङ्गलबार साँझ घरबाट करिब १५० मिटर दक्षिणतर्फ रहेको उक्त खाली घरमा मृत अवस्थामा भेटिएकी हुन्।
खाली घरबाट दुर्गन्ध आएपछि स्थानीयवासीले झ्यालबाट हेर्दा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको शरीर सुन्निएको र यौनाङ्गमा चोट देखिएको जनाएको छ । घटनास्थलमा भेटिएको कपडाको अवस्था र शवको प्रकृतिका आधारमा बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीले घटनाको प्रकृति हेर्दा जबर्जस्ती करणीपछि हत्या भएको आशंका गर्ने आधार देखिएको बताए । यद्यपि, घटनाको वास्तविक कारण तथा यौनजन्य हिंसा भए–नभएको विषय शल्यपरीक्षण (पोस्टमार्टम) प्रतिवेदनपछि मात्र यकिन हुने उनले बताए ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले वीरगञ्जबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा अनुसन्धान सुरु गरेको छ । बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान तथा प्रहरी परिचालनको निगरानी गरिरहेको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई बालिकाको शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ । साथै, प्रहरी निरीक्षक प्रकाश थापालाई अनुसन्धान अधिकृत तोकिएको जनाएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि अनुसन्धान तीव्र बनाएको छ । बालिकाको हत्या भएको निष्कर्षसहित घटनाका सम्भावित सबै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो खबर आजको गोरखापत्रबाट लिइएको हो ।




















