सम्पत्ति विवरणसम्बन्धी स्टाटसमा टिप्पणी गरेपछि आरोप–प्रत्यारोप सार्वजनिक
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र मूर्तिकार बिक्रम श्रीबीच सामाजिक सञ्जालमा सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ। सम्पत्ति छानबिन आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाएको विषयमा मेयर पौडेलले सामाजिक सञ्जालमा राखेको स्टाटसमा बिक्रम श्रीले टिप्पणी गरेपछि दुवै पक्षबीच जुहारी बढेको हो।
मेयर पौडेलले आफ्नो सम्पत्तिबारे विभिन्न व्यक्तिहरूले आधारहीन आरोप लगाउँदै आएको उल्लेख गर्दै प्रमाण भए सम्बन्धित निकायमार्फत छानबिन गर्न चुनौती दिएका थिए। उक्त स्टाटसमाथि प्रतिक्रिया जनाउँदै मूर्तिकार बिक्रम श्रीले विगतका केही घटनाहरू स्मरण गराउँदै आफू अन्यायको सिकार भएको दाबी गरेका छन्।
श्रीले काव्यवाटिका तथा प्रदेश सरकारबाट प्राप्त अनुदानसँग सम्बन्धित विषय उठाउँदै आफूलाई आर्थिक, प्रशासनिक तथा व्यक्तिगत रूपमा प्रताडित गरिएको आरोप लगाएका छन्। उनले आफूविरुद्ध योजनाबद्ध रूपमा कारबाही भएको र त्यसका कारण ठूलो आर्थिक क्षति बेहोर्नुपरेको दाबी गरेका छन्।



यता मेयर पक्षले भने सम्पत्ति र आर्थिक अनियमिततासम्बन्धी उठाइएका प्रश्नहरूको कानुनी रूपमा जवाफ दिन तयार रहेको बताउँदै प्रमाणका आधारमा मात्र बहस गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
दुवै पक्षका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन् भने समर्थकहरूबीच पनि पक्ष–विपक्षमा बहस चर्किएको देखिन्छ। यद्यपि, दुवै पक्षले सार्वजनिक रूपमा गम्भीर आरोप लगाएका भए पनि ती आरोपहरू सम्बन्धित निकायबाट प्रमाणित भइसकेका छैनन्।
सामाजिक सञ्जालमा सुरु भएको यो विवादले इटहरीको राजनीतिक तथा सामाजिक वृत्तमा नयाँ चर्चा सिर्जना गरेको छ। अब सम्बन्धित पक्षहरूले आफ्ना दाबीलाई प्रमाणसहित स्थापित गर्छन् वा कानुनी प्रक्रियामार्फत समाधान खोज्छन् भन्ने चासो बढेको छ।




















