इटहरी । इटहरी उपमहानगरपालिकाका मेयरले आफ्नो सम्पत्तिबारे विभिन्न आरोप लगाउँदै आएका राजनीतिक व्यक्तिहरू र सामाजिक सञ्जालमा सक्रिय समूहलाई लक्षित गर्दै प्रमाणका आधारमा छानबिन गर्न खुला चुनौती दिएका छन्। उनले विशेषगरी सांसद अशोक चौधरीको नाम उल्लेख गर्दै आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न नसके सांसद पदको गरिमा कायम राख्न आग्रह गरेका छन्।
मेयरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार भदौ २३ र २४ गतेको ‘जेन जी विद्रोह’ का क्रममा आफ्नै घरमा आगजनी हुनुअघि नै केही व्यक्ति तथा समूहले सामाजिक सञ्जाल, फेक मिडिया र नक्कली आईडीमार्फत आफ्नो चरित्र हत्या गर्ने अभियान सञ्चालन गरेको आरोप लगाएका छन्। उनका अनुसार ती समूहहरूले अरबौं रुपैयाँ भ्रष्टाचार गरेको, अकुत सम्पत्ति जोडेको, काठमाडौंमा घर, जग्गा तथा शेयर खरिद गरेको जस्ता आरोपहरू निरन्तर फैलाइरहेका छन्।
उनले आफ्नो सम्पत्तिको विषय संसदसम्म पुगेको स्मरण गर्दै सरकारद्वारा गठित छानबिन समितिमा सम्पत्ति विवरण बुझाइसकेको बताएका छन्। अब आरोप–प्रत्यारोपको राजनीति नभई प्रमाणको आधारमा सत्य परीक्षण हुनुपर्ने उनको भनाइ छ।
मेयरले केही व्यक्तिहरूले आफ्ना साथीभाइ र निकटस्थलाई फोन गरेर धम्क्याउने तथा भेट्न बोलाएर दबाब सिर्जना गर्ने प्रयास गरिरहेको दाबी गर्दै त्यसप्रति आपत्ति जनाएका छन्। उनले सांसद अशोक चौधरीलाई लक्षित गर्दै भनेका छन्, “यो राज्य र कानुन तपाईंको मात्र होइन, मेरो पनि हो। सत्ताको फुर्ति देखाएर होइन, प्रमाणका आधारमा कुरा गरौं। यदि आरोप सत्य हो भने प्रमाणित गर्नुहोस्, होइन भने सांसद पदको गरिमा कायम राख्नुहोस्।”
उनले आफूले सम्पत्ति लुकाएको, गैरकानुनी रूपमा आर्जन गरेको वा राज्यलाई गलत सूचना दिएको प्रमाण भए कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्। “यदि म दोषी प्रमाणित भए कानुनअनुसार जुनसुकै सजाय भोग्न तयार छु,” उनले भनेका छन्।
साथै प्रमाणविहीन आरोप, ट्रोल अभियान, फेक आईडी र चरित्रहत्याको राजनीति धेरै दिन टिक्न नसक्ने दाबी गर्दै उनले लोकतन्त्र, विधिको शासन र कानुनी प्रक्रियामाथि आफ्नो पूर्ण विश्वास रहेको बताएका छन्। आफ्नो राजनीतिक जीवन र सार्वजनिक चरित्र जनताको परीक्षणका लागि सधैं खुला रहेको उनको भनाइ छ।
मेयरको यो सार्वजनिक अभिव्यक्तिपछि स्थानीय राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। यद्यपि, उनले उठाएका विषयमा सांसद अशोक चौधरीको औपचारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन।




















