इटहरीः  नेपालले नौ महिनामै एक खर्बभन्दा बढीको प्रशोधित तेल निर्यात गरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना अर्थात् साउनदेखि चैतसम्मको अवधिमा एक खर्ब दुई अर्ब ७६ करोड रुपियाँको प्रशोधित तेल निर्यात गरेको हो । 

प्रशोधित तेलमध्ये सबैभन्दा धेरै हिस्सा भटमास तेलको रहेको छ । जुन चैतसम्म ९० अर्ब ७१ करोड रुपियाँको निर्यात भएको विभागको तथ्याङ्क छ । गत आवको सोही अवधिमा ६२ अर्ब ७८ करोड रुपियाँको भटमास तेल निर्यात भएको थियो । एक वर्षमै भटमास तेलको निर्यात करिब २८ अर्ब रुपियाँले बढेको देखिन्छ । 

भटमास पनि छ अर्ब ९४ करोड रुपियाँको सूर्यमुखी तेल र पाँच अर्ब नौ करोड रुपियाँको पाम तेल निर्यात भएको छ । रोचक त नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये यी तिनै प्रकारका तेल पर्दछन् । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमास तेल रहेको छ भने सूर्यमुखी तेल चौथो र पाम तेल पाँचौँ स्थानमा रहेको छ । 

नेपालबाट अत्यधिक निर्यात भएका यी प्रशोधित तेल नेपालमा उत्पादन भएका भने होइनन् । विभिन्न देशबाट कच्चा तेल आयात गरेर नेपालमा प्रशोधन गरी निर्यात गरिएको हो । खास गरी नेपालको प्रशोधित तेलको मुख्य बजार भारत रहेको छ । भारतले यस्ता कच्चा तेलमा ४० प्रतिशतभन्दा बढी भन्सार लगाउँदै आएको छ तर नेपालले साफ्टा सुविधा अन्तर्गत निर्यातमा शून्य भन्सारको सुविधा पाउने भएकाले उद्योगीले नेपालमा प्रशोधन गरेर भारतमा निर्यात गर्ने व्यापार निकालेका हुन् । भारत प्रशोधित तेलको सबैभन्दा ठुलो बजार पनि हो ।

प्रशोधित तेलको निर्यात एक खर्ब नाघे पनि यसका लागि आवश्यक कच्चा पदार्थको आयातको परिणाम भने त्योभन्दा बढी छ । विभागको तथ्याङ्क अनुसार चैतसम्म नेपालले ९६ अर्ब ७२ करोड रुपियाँको कच्चा भटमास तेल आयात गरेको छ, जुन निर्यात भएको प्रशोधित तेलभन्दा छ अर्ब रुपियाँले बढी हो । 

त्यस्तै सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा पनि यो दोस्रो स्थानमा छ । यस अवधिमा १४ अर्ब ५९ करोड रुपियाँको कच्चा सूर्यमुखी तेल आयात भएका तथ्याङ्कले देखाउँछ । नौ अर्ब ६१ करोड रुपियाँ पाम तेल पनि आयात भएको विभागले जनाएको छ । यी सबै गरेर नेपालले चैतसम्म एक खर्ब २१ अर्ब रुपियाँको कच्चा तेल आयात गरेको छ । निर्यातको तुलनामा करिब १८ अर्ब रुपियाँले कच्चा तेलको आयात बढी छ । 

विभागका अनुसार चैतसम्म नेपालले कुल १४ खर्ब ९० अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जुन गत आवको तुलनामा करिब १४ प्रतिशतले बढी हो । त्यस्तै निर्यात गत आवको नौ महिनाको तुलनामा १८.४६ प्रतिशतले बढेर दुई खर्ब २२ अर्ब रुपियाँ पुगेको छ । निर्यात बढे पनि आयातमा भएको वृद्धिले व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब रुपियाँ पुगेको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।