इटहरीः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी)अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन्  । 

सभामुख पदका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ भने निर्वाचन चैत २२ गते गर्ने तालिका छ । सङ्घीय संसद सचिवालयका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ । लगत्तै २ः३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।यसअघि रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अर्यालले आज सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

हाल सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्दै आइरहेका छन् ।

सभामुख पदको निर्वाचनपछि चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ । त्यसका लागि चैत २२ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

यसअघि उपाध्यक्ष विमला घिमिरेको कार्यकाल २० फागुनमा सकिएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त छ ।