इटहरीः आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)सहित २६ जना प्रतिस्पर्धामा छन् । स्वतन्त्रबाट धरानको नगर प्रमुख भएका उनी आङ्खनो कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । दलहरूलाई आलोचना गर्दागर्दै हर्कलाई पछिल्ला दिन ‘आफ्नै बोली गलपासा’जस्तै हुँदा जनमत केही घट्न सक्ने मतदाताहरू बताउँछन् ।

पुराना दलमध्ये नेकपा एमालेको सबैभन्दा बलियो संगठन रहेको यो क्षेत्रमा यसपटक एमाले आफैँ रक्षात्मकजस्तै रहेको छ । सुनसरीको चार वटा निर्वाचन क्षेत्रमध्ये सुनसरी क्षेत्र नम्बर १ एमालेको सबैभन्दा बलियो संगठन भएको क्षेत्र हो । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टीको समर्थनमा तत्कालीन एमालेबाट उम्मेदवार रहेका अशोक राईले निर्वाचन जितेका थिए ।

जुन बेला एमालेबाट विद्रोह गर्दै मनोजकुमार मेन्याङ् बोले उम्मेदवारी दिई ५ हजारभन्दा बढी मत ल्याएका थिए । एमालेभित्रैको विद्रोहबीच पनि जित निकालेको एमालेका लागि यसपटक सहज छैन । यस क्षेत्रमा हर्क आफ श्रमदाताहरूको एक आकर्षण बन्नुले एमालेलाई सहज छैन । विशेषगरी हर्क आफ्नै लागि पनि यो क्षेत्र सुरक्षित नदेखिने जानकारहरू बताउँछन् ।

अघिल्लोपटकको निर्वाचनमा पनि झिनो मतान्तरले पराजित भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ (सरिन)पुनः चुनावी मैदानमा छिन् । देशभर रास्वपाको जनलहर बढ्नु र सुनसरी क्षेत्र नम्बर–१ मा पनि बालेन्द्र शाहको प्रभाव बढ्दा सरिनप्रतिको अर्को आकर्षण देखिन्छ । धरानका स्थानीय व्यापारी र हर्क र सरिनको वैकल्पिक उम्मेदवारका रूपमा भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट बलियो प्रतिस्पर्धी छन् सूर्यबहादुर भट्टराई (मनोज) ।

श्रम संस्कृति पार्टी र रास्वपाको विकल्पमा उनी बलियो प्रतिस्पर्धी रहेको जानकार बताउँछन् । राजनीतिक विश्लेषक प्राडा राजेन्द्र शर्मा भन्छन्, ‘स्थानीय तहदेखि केन्द्रसम्म प्रभाव राख्दै आएका पुराना दलहरूको चुनावी अभियान अपेक्षाकृत सुस्त देखिको छ । अर्कोतर्फ, नयाँ राजनीतिक शक्तिहरूको सक्रियता भने बढ्दो छ ।’ खासगरी यहाँ एमाले र कांग्रेस रक्षात्मक देखिँदा हर्क, सरिन र मनोजको चुनावी प्रचार आक्रामक देखिएको उनले बताए ।

हर्कले आङ्खनो कमीकमजोरी सच्याउने र अरूलाई गाली नगर्ने हो भने उनको पक्षमा पनि नतिजा पर्न सक्ने भन्दै उनी अहिले चर्चा भइरहेमध्ये रास्वपा अग्रपंक्तिमा देखिएको बताउँछन् । पहिले पहिले यस ठाउँमा एमालेले चुनाव जित्दै गर्दा सहरको केन्द्रमा नेपाली कांग्रेसको चर्चा हुने भए पनि अहिले भने नेकपामा मनोजको चर्चा चुलिएको उनले बताए ।

यस क्षेत्रमा सबैभन्दा बलियो संगठन भएको नेकपा एमालेले आफ्नै जनमत जोगाउँदा एमाले प्रतिस्पर्धी हुने भए पनि एमालेका लागि सधै ँजस्तो सहज अवस्था नरहेको उनको टिप्पणी छ । रास्वपाको पक्षमा मत निर्माण हुँदै गर्दा हर्कलाई असहज हुने विश्लेषण छ । पुराना राजनीतिक दलहरूले आफूले चुनाव नजित्ने अवस्था आएमा नयाँ रणनीति अपनाउनेसमेत आकलन गर्न सकिन्छ ।

विशेषगरी अन्तिम समयमा आफूले नजित्ने अवस्था आएमा रास्वपालाई जित्न नदिन माटोलाई सघाउनेसमेत आकलन गरिन्छ । घण्टी र माटो दुवैको विकल्पमा भने तारालाई मत दिनसक्ने धेरैको आकलन छ । एमाले र कांग्रेस रक्षात्मक अवस्थामा पुग्दा ती दलले यदि आफैँ निर्वाचन नजित्ने अवस्था आएमा कसलाई हराउने भन्ने निर्णायक बन्न सक्ने चर्चा यो क्षेत्रमा छ ।

अघिल्लो निर्वाचनमा पुराना दलहरूको विकल्पमा रास्वपा मात्रै रहेको थियो भने यसपटक भने श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टीलगायतका दलहरूको उदयले रास्वपालाई नै पनि क्षति हुनसक्छ ।

यस क्षेत्रमा श्रम संस्कृति पार्टीका सभापति हर्कराज राई, एमालेबाट टीकाराम लिम्बू, कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपाबाट सूर्यबहादुर भट्टराई (मनोज), राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमाङ तामाङ , राप्रपाबाट उद्धव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट डम्बर लावतीलगायत २६ जना प्रतिस्पर्धामा छन् । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेको समर्थन पाएको जनता समाजवादी पार्टीका नेता अशोक राई विजयी भएका थिए ।

उनले १७ हजार ५ मत प्राप्त गर्दा रास्वपाकी गोमाङले १६ हजार ६ सय ६ मत पाएकी थिइन् । समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै २० हजार ९८ प्राप्त गरेको थियो । रास्वपाले १७ हजार २ सय ७१, कांग्रेसले ११ हजार ७ सय ५० र नेकपा ९तत्कालीन माओवादी०ले ४ हजार ६ सय ५६ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा १ लाख ५० हजार ३ सय ९३ मतदाता छन् ।

धरानमा वर्षौंदेखि देखिएको खानेपानी समस्या अझै पूर्णरूपमा समाधान हुन सकेको छैन । बढ्दो जनसंख्या, स्रोत व्यवस्थापनको अभाव र दीर्घकालीन योजनाको कमीका कारण यहाँका बासिन्दा अझै पनि खानेपानी अभाव झेल्न बाध्य छन् ।

खानेपानीको मुद्दा हरेक चुनावमा मुख्य एजेन्डा बन्दै आएका छ । राजनीतिक दलहरूले समाधानको प्रतिबद्धता दोहो¥याए पनि व्यवहारमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका हर्क साम्पाङले पनि खानेपानी समस्या समाधानलाई प्रमुख एजेन्डा बनाएका थिए । उनले मुहान संरक्षण, सप्तकोशीको पानी धरान ल्याउने, पाइपलाइन विस्तार तथा वैकल्पिक स्रोत खोजीजस्ता पहलहरू अघि बढाएका थिए । श्रमदान अभियानमार्फत केही क्षेत्रसम्म पानी वितरण सुधार भएपनि पूर्ण समस्या भएको छैन ।

गच्छदारलाई विरासत फर्काउने अन्तिम अवसर

सुनसरी–३ मा नेपाली कांग्रेसका तर्फबाट विजयकुमार गच्छदार आठौ पटक चुनावी मैदानमा उत्रिएका छन् । उनी ‘गुमेको विरासत’ फर्काउने अन्तिम अवसरसहित घरदैलो गर्दै मतदातासँग सक्रिय संवाद गरिरहेका छन् । दुई दशकभन्दा बढी समयसम्म सुनसरी–३ बाट विजयी हुँदै आएका नेपाली कांग्रेसका गच्छदार २०७९ सालको निर्वाचनमा एमाले नेत्री भगवती चौधरीसँग पराजित भएपनि त्यस हारलाई उनले ‘जनताको असन्तुष्टि बुझ्ने’ अवसरका रूपमा लिएका छन् । यसपटक गच्छदार पुनरागमनको दाउमा छन् ।

जीवनकालमा अन्तिमपटक चुनावी अभियानमा होमिएको भन्दै मतदाताको भावना समेट्दै घरदैलो र प्रत्यक्ष संवादमार्फत जनता ‘क्याच’ गरिरहेका छन् । गच्छदारले २०४८ देखि २०७४ सम्म विभिन्न पार्टीबाट कांग्रेस, मधेसी जनअधिकार फोरम, फोरम (लोकतान्त्रिक) जित हात पारिसकेका छन् । यसपटक उनी अधुरा सिँचाइ आयोजना, सडक विस्तार, स्वास्थ्य केन्द्र र शिक्षा पूर्वाधार पूरा गर्ने प्रतिबद्धतासहित मतदातासँग छन् । २०४८ सालदेखि निरन्तर चुनाव जितेका उनी २०७९ सालको निर्वाचनमा मात्रै पराजित बनेका थिए ।

एमालेकी भगवती चौधरीले शालीन अभिव्यक्ति, विकास कार्ड र भ्रष्टाचारविहीन छवि प्रस्तुत गर्दै मतदाताको आकर्षण बढाइरहेकी छन् । उनी चौथोपटक प्रतिस्पर्धामा उत्रिएकी हुन् । दुई पटक कांग्रेसका गच्छदारसँग पराजित भएकी उनी २०७९ को निर्वाचनमा भने जित निकालेकी थिइन् । यसपटक उनले विकास योजना सञ्चालन गरेको बताउँदै निर्वाचनमा होमिएकी छन् । रास्वपाका अशोक चौधरी ‘नयाँ विकल्प’को नाम लिएर मतदाता आकर्षित गर्ने रणनीतिमा छन् ।

वैकल्पिक मत र देशभर रास्वपामा आएको लहरले नै चुनाव जित्ने उनको तयारी छ। कांग्रेस, एमाले र रास्वपाका तीनै व्यक्तिले संसदीय अनुभव लिइसकेका छन् । नेकपाका दुर्गेशकुमार चौधरीले कम्युनिस्ट विकल्प प्रस्तुत गर्दै आङ्खनो उपस्थिति रहेको बताउँदै आएका छन् । बर्जु गाउँपालिका–१ उराव बस्तीमा मतदाताको मनोविज्ञान मिश्रित देखिएको छ । गीता उराव यसपटक नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई समर्थन गर्ने तयारीमा छिन् ।

संगीता उराव भने नयाँ विकल्पतर्फ झुक्ने मनस्थितिमा छिन् । ‘सप्पैलाई हेरिसकियो, यसपटक नयाँलाई हेरौँ कि भन्ने सोच छ । नयाँले पनि केही गर्दैन कि भन्ने चिन्ता पनि लाग्छ । कांग्रेस, एमाले सप्पैलाई भोट त दिइसकेँ, नयाँ पनि हेरौँ कि भन्ने छ,’ उनले भनिन् । कुमारी उरावले भने घरमा आफ्ना श्रीमानले जसलाई भन्यो उसैलाई मत दिने बताउँछिन् । यो थारु समुदायको बाहुल्य रहेको क्षेत्र हो ।

यहाँ थारु नेताहरूबीच नै मुख्य चुनावी भिडन्त हुँदै आएको छ । यसपटक पनि थारु समुदायकै पुराना अनुहारहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ । राप्रपाका घनश्याम गुरुङ, श्रम संस्कृति पार्टीका रामप्रसाद सदा, समावेशी समाजवादी पार्टी नेपालका किशोरकुमार विश्वासलगायत २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।