इटहरीः सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगबती चौधरी अगाडी देखिएकी छन्। चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकन गर्दा अन्य उम्मेदवारको तुलनामा उहाँ अगाडि देखिएकी हुन् ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर विजय हासिल गरेकी थिइन्। उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेका थिए । भगबती चौधरी ५ हजार १ सय ८८ मतान्तरले विजयी भएकी थिइन्। अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनाली ले ६ हजार ४ सय ५३ मत प्राप्त गरेकी थिइन् । भगबती चौधरी अघिल्लो चुनाबमा देशभरमै सबैभन्दा बढि मत ल्याएर जित्ने महिला हुन्।
भगबती चौधरीले प्रत्यक्षतर्फ ४० हजार ७सय ८८ मत ल्याउँदा समानुपातिकतर्फ नेकपा एमालेले ३३ हजार९सय२ मत प्राप्त गरेको थियो । यो तथ्याँकले देखाँउछ सुनसरी–३ भगबती चौधरीको व्यक्तिगत प्रभाव बलियो रहेको क्षेत्र हो ।
“११ हजार मतान्तरले जित्छौँ” — कमाण्डर बस्नेत
नेकपा एमाले सुनसरी–३ निर्वाचन परिचालन कमिटीका कमाण्डर लिलम बस्नेतले यसपटक ११ हजार मतान्तरले विजय हासिल गर्ने दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा ५ हजार १सय ८८ मतान्तरले जितिएको स्मरण गराउँदै उनले यसपटक दोब्बरभन्दा बढी मतान्तर हुने दाबी गरे ।एमालेको मजबुत संगठन, एकजुट रूपमा सञ्चालन गरिएको चुनावी अभियान, चौधरीको व्यक्तिगत प्रभाव र विकासप्रेमी छविका कारण ठूलो मतान्तर आउने बस्नेतको दाबी छ ।

विकासप्रेमी छवि र प्रतिबद्धता
भगबती चौधरीले फरवार्ड लघुबित्त मार्फत ५०औ हजार महिलालाई स्वरोजगार बनाएकी छन् । करिब २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएकी चौधरीले ५ हजार लाई रोजगार बनाउने प्रतिबद्धता जनाइन् । दातृ संस्थाको सहयोगमा सुनसरी–३ का विपन्न, दलित तथा एकल महिलालाई २ सय ७५ घर निर्माण गरिदिएको र आगामी दुई वर्षभित्र थप ४ सय घर निर्माण गर्ने प्रतिबद्धता जनाएकी छन् ।सांसद भएको तीन वर्षको अवधिमा १ अर्ब २१ करोड रुपैयाँ बराबरका विकास योजना ल्याएको उल्लेख गर्दै बाँकी अधुरा काम पूरा गर्न र नयाँ योजना अघि बढाउन पुनः अवसर दिन मतदातासँग अपिल गरेकी छन् । चौधरीले आफूले गर्न नसक्ने झुटा आश्वासन नदिने, अन्य उम्मेदवारको अनावश्यक आलोचना नगर्ने, भ्रष्टाचार नगर्ने र सुशासनका लागि दृढतापूर्वक लड्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। संसदमा सक्रिय रूपमा जनताको आवाज उठाउने नेतामध्ये आफू एक भएको दाबी गर्दै उनले सुनसरी–३ का मुद्दा बुलन्द रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गरिन् ।
मतदाता संरचना र क्षेत्रगत अवस्था
सुनसरी–३ मा इटहरी उपमहानगरपालिकाका १० वडा, दुहबी नगरपालिका, बर्जु र गढी गाउँपालिका तथा इनरुवा नगरपालिका–७ समेटिएका छन् । कुल १ लाख ३४ हजार ३ सय २ मतदाता रहेका छन्, जसमा ६९ हजार १२ पुरुष र ६५ हजार २ सय ९० महिला छन् । उमेर समूहअनुसार ४१ देखि ६० वर्षका ५१ हजार १ सय ५३ मतदाता सबैभन्दा बढी छन् भने १८ देखि २५ वर्षका १० हजार २ सय ६० मतदाता सबैभन्दा कम छन् ।




















