इटहरीः फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा एमाले आफ्नो विरासत जोगाउने रणनीतिमा लागेका छन् । रास्वपा, नेपाली कम्युनिस्ट, श्रम संस्कृति पार्टी, उज्यालो नेपालसहितका अन्य नयाँ दल पनि चुनाव जितेर नयाँ रकेर्ड बनाउने दाउमा छन् ।
२०६४ सालयता दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा निर्वाचन हुँदा एमालेले तीनपटक र कांग्रेसले एकपटक जितेको थियो। एक्लाएक्लै चुनाव लड्दा यस क्षेत्रमा कांग्रेस र एमालेको संगठन बलियो देखिएकाले आमन्नेसामुन्ने हुनुपर्नेमा नयाँ पार्टीतर्फ मतदाताको आकर्षण बढेको र त्यसमा पनि नयाँ धेरै दलहरू प्रतिस्पर्धामा रहेकाले अन्तिम नजिता कसका पक्षमा आउँछ भनेर प्रारम्भिक चरणमै आकलन गरिहाल्न सकिन्न ।
खासगरी अहिलेसम्म पुराना र नयाँ दुवै दलले गाउँमा गनिएका र चिनिएका मतदातालाई पहिलो प्राथमिकतामा राखेर भेटघाट गर्ने गरेका छन्। साथै केही भोट बैंक क्षेत्रका मतदातालाई पनि आकर्षित गर्ने उद्देश्यले भेटघाट गर्दै आएका छन् । दलहरूले विभिन्न स्थानमा घरदैलो कार्यक्रम पनि गरेका छन्। यद्यपि निम्न वर्गसमक्ष कुनै पनि दलका उम्मेदवार पुगेका छैनन् । जसले गर्दा तिनै निम्न वर्गका मतदाताको पनि निर्णयक बन्न सक्छन्। रामधुनी वडा नं ३ का शिवकुमार झा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न नआएको र यही पार्टीमा मत दिने भनेर निर्णय गरिनसकेको बताए । उनी सडक किनारामा बदाम र मकै भुटेर बिक्री गर्ने गर्छन् ।
यस क्षेत्रमा कांग्रेसका उम्मेदवार राजीव कोइराला छन् । उनी अनुभवी राजनीतिज्ञ हुन् । उनी सुनसरीका दुई कार्यकाल सभापति र निवर्तमान केन्द्रीय सदस्य हुन् । उनी २०७४ सालमा कोसी प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत थिए । कोसी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकाले उनलाई नीति, पहुँच र राजनीतिक अभ्यासको बल दिएको छ । कोइरालाको अनुभव, पहुँच र संगठनात्मक बलकै आधारमा जित्न सहज हुने कांग्रेसको दाबी छ ।

निवर्तमान केन्द्रीय सदस्य एवम् चुनावी प्रचार समिति सुनसरीका संयोजक राजीव ढुंगानाले अरू उम्मेदवारभन्दा जनतामाझ बढी चिनिएकाले पनि चुनाव जित्न सहज हुने बताए । उनका अनुसार यसपटक कांग्रेसमा कुनै अन्तरविरोध छैन। विगतका चुनावमा कांग्रेसमा अन्तरघातको खतरा रहने गथ्र्यो । पार्टीभित्र अन्तरघात नभए पनि आफ्ना मतदाता जोगाउन र विशेषगरी निम्न वर्गका मतदातालाई आफ्नो पक्षमा पार्न भने कांग्रेसलाई चुनौतीपूर्ण छ । उनी प्रदेश सांसद हुँदा बाँडेका आश्वासन पुरा गर्न नसकेकोमा आलोचित पनि छन् । मतदाताको चाहना अनुसार कामै गर्न नसकेको आरोप उनलाई लाग्दै आएको छ ।
यस क्षेत्रबाट एमालेका उम्मेदवार सुजन लामा रहेका छन् । उनी युवा संघ कोसी प्रदेश संयोजक हुन् । युवाकेन्द्रित राजनीति गरेका उनी जनतासँग खासै परिचित नभए पनि संगठन बलियो भएकाले जित्न सहज हुने एमाले नेताहरू बताउँछन् ।
एमालेको गुटगत प्रभावका कारण कोसी प्रदेशसभा सदस्य तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई दिइसकेको टिकटसमेत अन्तिम समयमा लामालाई दिइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारी मनोनयन गर्नु एक दिनअघि भण्डारीलाई टिकट दिए एउटा समूहले असहयोग गर्ने बताए पनि अन्तिम समयमा लामालाई टिकट दिइएको थियो ।
टिकटप्रति असन्तोषले गर्दा चुनावी कमान्डर चयनमा समेत सकस भएको थियो । अन्ततः कारबाहीमा परेका नेता द्वारिकलाल चौधरीको कारबाही फुकुवा गरी चुनावी कमान्डर बनाइएको थियो । चुनावी कमान्डर चौधरीले छापामार शैलीले चुनाव जिताएर देखाउने जिकिर गर्दै आएका पनि छन् । चौधरी समुदायका उनको दरिलो प्रभाव छ । जसकारण लामाले यसपटक बाजी मार्नेमा कुनै शंका गर्ने स्थान नरहेको दावी एमालेको छ । कमाण्डर चौधरीले भने ‘एमालेमा कुनै समस्या छैन, चुनाव जिताएर देखाउँछौं । ‘हामीले कडा आचारसंहिता बनाएर चुनावी अभियान गरिरहेका छौं।’

एमालेमा एकातिर टिकटको असन्तोष र अर्कातिर आफ्ना मतदाता जोगाउने मुख्य चुनौती छ तर धेरै कुरा सहज भइसकेको पार्टीको दाबी छ । एमालेले ‘पात्र’ जो भए पनि युवाले टिकट पाउनुलाई उपलब्धि ठानेको छ ।
नयाँ दलमध्ये रास्वपाबाट लालविक्रम थापा उम्मेदवार छन् । उनी रास्वपाका प्रदेश महामन्त्री हुन् । उनी अघिल्लोपटक पनि सुनसरी क्षेत्र नं २ बाटै उम्मेदवार बनेका थिए । त्यतिबेला एमालेका भीम आचार्य ३२ हजार २४ मत ल्याएर विजयी हुँदा उनले १९ हजार तीन सय ९१ मत ल्याएका थिए । कांग्रेसका सीताराम मेहताले त्यतिबेला २६ हजार ६८ मत ल्याएका थिए ।
रास्वपाका युवा नेता नवराज सुवेदी जहाँ पुग्दा पनि आफ्नै पक्षमा माहोल भएकाले चुनाव सहजै जित्ने दाबी गर्छन् । उनले भने, ‘हाम्रो दक्षिण क्षेत्र खासगरी इनरुवा र देवानगञ्ज तुलनात्मक हिसाबले कमजोर ठानिए पनि बालेन्द्र शाह आएपछि पूरै सुध्रियो।’
रास्वपाका वरिष्ठ नेता शाह चार दिनअघि क्षेत्र नं २ को इटहरी, रामधुनी र इनरुवा आएका थिए । उनले नयाँ दलमध्ये आफ्नै पार्टीको सम्भावना बलियो भएको बताए । ‘श्रम संस्कृतिलाई बढी मात्रामा जातिवादी मत जान्छ, हामीलाई सबैको मत आउँछ’, उनले भने ।
नयाँ पार्टीप्रति मतदाताको आकर्षण बढे पनि रास्वपाका उम्मेदवार थापाले जनता माध्यमिक विद्यालय इटहरीको भाडा तिर्न बाँकी रहेको र महालेखापरीक्षणले बक्यौता देखाएको विषयमा आरोप खेप्दै आएका छन् । थापामाथि इटहरीको जनता स्कुलको करिब २ कट्ठा जग्गा भाडामा लिएर विद्यालयलाई ८५ लाखदेखि १ करोड रुपैयाँसम्म तिर्न बाँकी रहेको आरोप पनि लागेको छ । यस्ता विषयले उनको ‘वैकल्पिक’ छविमा प्रश्न उठाएको छ । थापाको उम्मेदवारीसँगै विवाद पनि जोडिएको छ । पार्टीकै अनुशासन विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि उनीमाथि कारबाही गरेको थियो । तर, थापाले नाताले आफ्नै साली पर्नेलाई शेयर स्तान्तरण गरिदिएका थिए । त्यही कागज पेश गरेर उनी पार्टीको कारवाही हुनबाट जोगिएका थिए । इटहरीमा १२ फागुनमा भएको रास्वपाको कोशी स्तरीय परिर्वतन उद्घोष सभामा इनरुवा, देवानगन्ज र रामधुनी मन्दिरका बिषयमा होच्याएर बोलेको भन्दै थापाको पार्टी भित्र र बाहिर तिब्र आयोजना शुरु भएकाले उनलाई यसपटक निर्वाचन जित्न निकै सकस देखिएको छ । उनी इटहरीमा भएका दुई ठूला ककस कार्यक्रममा सहभागी नभएकाले जनताको प्रश्नबाट भागेको भन्दै आलोचित समेत भएका छन् । उनलाई जनता स्कुलको भाडा विवाद र विवादित अभिव्यक्ति नै चुनाव बाजी मार्नका लागि चुनौति बन्ने देखिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेकी रामकुमारी चौधरी पनि चुनाव जित्ने दाउमा छिन् । उनी २०७४ सालमा सामानुपातिक कोटाबाट संघीय सभासद् भएपछि कृषी राज्यमन्त्रीसमेत भएकी थिइन् ।
चौधरीलाई पनि बढी अवसर लिने नेताका रूपमा पार्टीभित्रै आलोचना हुने गरेकाले पनि जुन हिसाबले नेता–कार्यकर्ता संगठित हुनुपर्ने हो, त्यसमा केही हदसम्म कमी भएको छ । यद्यपि अवसर नपाउने नतातेकै कारण टिकट पनि चौधरीको पक्षमा आएको र जित्न पनि उनैलाई सजिलो हुने पार्टीको निष्कर्ष छ । उनले कृषी राज्यमन्त्री हुँदा परिवार नजिककालाई फर्म खोल्न लगाएर सरकारी अनुदान दिएको र उन्न भैसी कार्यक्रममा कोशी पारीको श्रीलंका टप्पुका भैसीहरु देखाएर ठूलो रकम हिनामिना गरेको आरोप समेत लाग्दै आएको छ । आफ्नो क्षेत्रमा २६ हजारबढी थारु समुदायको मत रहेको र ती सबै मत आफैलाई आउने गलत दावी गर्दै टिकट हत्याउन सिपालु चौधरीलाई मत दिने बिषयमा पार्टी भित्र ठूलो अन्तरविरोध छ । उनी संविधानसभा निर्वाचन ताका यहि क्षेत्रबाट उम्मेदवार बनेपनि जमानत जोगाउन नसकेकी नेतृ समेत हुन् ।

सुनसरी २ बाटै उम्मेदवारी दिई निर्वाचनमा होमिएका उज्यालो नेपाल पार्टीका गोपाल तामाङ छोटो समयमै बौद्धिक युवा नेताका रुपमा मतदाताहरु माझ छाएका छन् । उनी शसक्त उम्मेदवारका रुपमा खडा भएका छन् । अर्थशास्त्रमा डिग्री गरेका उनी अध्यापन पेशालाई बिश्राम लिई निर्वाचनको मैदानमा होमिएका छन् । २७ बर्षीय उनलाई युवा,बौद्धिक वर्ग र अन्य दलका असन्तुष्ट मतदाताहरुको साथ रहेको छ । मतदात गर्ने दिन नजिकिदै जाँदा उनको पक्षमा माहौल निकै राम्रो बन्दै गएको छ । प्रतिदिन मतदाताहरुमाझ उनको बढ्दै गएको प्रभावलाई चुनावी मैदानमै रहेका ठूला दलका उम्मेदवारहरुले सामान्य ठानेकाले तामाङ उनीहरुका लागि भारी पर्न सक्ने देखिन्छ ।
नयाँ दलमध्ये यस निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीका चेतन राई पनि चुनावी प्रतिस्पर्धामा छन् । उनी १२ वर्ष कोरिया बसेर फर्किएका हुन् । श्रम गरेर हरेक व्यक्ति उँभो लाग्ने नारा दिएर यतिबेला श्रम संस्कृतिका उम्मेदवार चेतन पनि मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय रूपमा जुटेका छन् ।
राष्ट्रिय मुक्ति पार्टीबाट सुनसरी २ बाट उम्मेदवारी दिएका सन्तोष मेहता समेत बलिया उम्मेदवार हुन् । उनको पक्षमा पनि माहोल राम्रो देखिएको छ । नेकपा संयुक्तका अतित नेपाल, नेपाल राष्ट्रिय निर्माण दलका आदित्य आर्चाय, राप्रपाका दिनेश बस्नेत लगायत सुनसरी २ बाट २८ जना उम्मेदवार यसपटक चुनावी मैदानमा छन् ।
सुनसरी चारवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी एक लाख ५८ हजार नौ सय १० जना मतदाता रहेको यस निर्वाचन क्षेत्रमा इटहरीका १०, रामधुनीका पाँच, इनरुवाका ६, देवानगञ्जका सात र हरिनगर गाउँपालिको एउटा वडा गरी ३० वटा वडा पर्छन् । जसमा उम्मेदवारको जित सुनिश्चित गर्ने इटहरी क्षेत्र नै हो । यस क्षेत्रमा मतदाताको हरेकपटकको निर्वाचनमा अनपेक्षित मनस्थिति परिवर्तन भइदिँदा नतिजा अपेक्षा गरेभन्दा फरक आउने गरेको छ।
क्षेत्र नं २ अन्तर्गत इटहरीका १० वटा वडामध्ये सबैभन्दा बढी मतदाता इटहरी वडा नं ५ मा १२ हजार दुई सय ७६ छन् । यस्तै वडा नं २ मा ११ हजार सात सय ८० छन् भने वडा नं ४ मा १० हजार तीन सय ३५ छन् ।




















