इटहरीः सुनसरी क्षेत्र नं २ आगामी चुनावमा स्थापित दलभन्दा नयाँ राजनीतिक शक्तिहरूबीचको प्रतिस्पर्धाले चर्चामा छ। परम्परागत दल बाहिरका तीन उम्मेदवारहरु गोपाल तामाङ, लालबिक्रम थापा, र चेतन राई आफ्नै शैली, शैक्षिक हैसियत र राजनीतिक पृष्ठभूमि लिएर मैदानमा उत्रिएका छन्। प्रस्तुत छ तिनको क्षमता, छवि र जनमतमा देखिएको प्रभावको विस्तृत विश्लेषण।
१. गोपाल तामाङ (उज्यालो नेपाल पार्टी)
२७ वर्षीय गोपाल तामाङ सुनसरी–२ मा सबैभन्दा कान्छो उमेरका तर शैक्षिक रूपमा बलियो प्रोफाइल लिएर आएका उम्मेदवार हुन्। अर्थशास्त्रमा मास्टर्स डिग्री सकेका उनी कानुनमा स्नातक अध्ययनरत छन । शैक्षिक र अध्ययनका दृष्टिकोणले अब्बल छविका उनि आर्थिक नीतिनिर्माण, स्थानीय बजेट व्यवस्थापन र विकास योजना बनाउन सक्षम भनी समर्थकहरू दाबी गर्छन्।
शिक्षा क्षेत्र र सामाजिक संघ संस्थामा सक्रिय रहेको अनुभवले उनलाई युवा, अध्ययनशील र जिम्मेवार विकल्पको रूपमा सुनसरी निर्वाचन क्षेत्र नं २मा प्रभावशाली छवि मानिएको छ । उज्यालो नेपालले हालै उभारिएको ‘सफा राजनीति’ अभियानमा गोपाल तामाङ जस्ता क्लिन प्रोफाइललाई प्राथमिकता दिँदै आएको संदेश मतदातामाझ पुगेको देखिन्छ।यसकारण पनि उनी निर्वाचनमा सशक्त उम्मेद्वार हुन ।
२. लालबिक्रम थापा (राष्ट्रिय स्वतन्त्र पार्टी )
औपचारिक अध्ययन डिप्लोमा सकेका लाल बिक्रम थापा यस क्षेत्रका पहिल्यै परिचित उम्मेदवार हुन्। रास्वपाबाट २०७९ मा पनि प्रतिस्पर्धा गरि एमालेका भिम आचार्यसंग पराजित भएका थापा यसपटक नयाँ ऊर्जा र संगठित प्रचारका साथ मैदानमा छन्।
उनलाई प्राविधिक पृष्ठभूमिका कारण पूर्वाधार, निर्माण कार्य र इटहरी क्षेत्रका विकास योजनामा व्यवहारिक ज्ञान राख्ने उम्मेदवार मानिन्छन् ।
तर केही समाचारहरूमा सार्वजनिक भएको विवादस्पद छवि जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिँदा भ्रष्टाचारको आरोप,अदालतमा मुद्दा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी जस्ता विषयले उनको विश्वासनीयतामा गम्भिर राजनैतिक प्रश्न उठाएको देखिन्छ। डिप्लोमा सम्मको अध्ययनका कारण दीर्घकालीन नीति नेतृत्वका विषयमा उनको क्षमता माथि प्रश्न हुने गरेको छ। यही कारण मतदाताको समर्थनमा असर पर्छ कि भन्ने बहस सुनसरी -२ मा हुने गरेको पाइन्छ ।
३. चेतन राई (श्रम संस्कृति पार्टी)
निर्वाचन आयोगको जानकारीमा औपचारिक शैक्षिक विवरण सार्वजनिक रूपमा नखुलाइ चेतनएका राई सुनसरी–२ का सबैभन्दा भुइँस्तरको अनुभूति बोकेका उम्मेदवार हुन्। उनी करिब १२ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका श्रमजीवी वर्गका प्रतिनिधिको रूपमा चर्चामा आएका छन्। श्रम, वैदेशिक रोजगारी, कोरियाबाट फर्किएका युवाहरूको समस्या, सीप,रोजगारी नीतिमा उनी सक्रिय बन्दै आएका छन्।
यस अर्थमा उनका एजेन्डा श्रमिक अधिकार, युवाको जीवन र रोजगारमुखी राजनीतिमा आधारित छन्। तर शिक्षा र नीति निर्माण क्षमताको औपचारिक विवरण नआएकाले प्रशासनिक दक्षता र दीर्घकालीन नीति नेतृत्वका विषयमा उनको क्षमता माथि मतदाताबाट प्रश्न हुने गरेको छ।




















