इटहरीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व सांसद तथा सुनसरी–३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरी विवादित अभिव्यक्तिका कारण इटहरीमा तनावपूर्ण अवस्थाको सामना गर्न बाध्य भएका छन्।

जेसिस इटहरीले आयोजना गरेको ककस कार्यक्रममा बोल्दै चौधरीले “घण्टीलाई भोट नहाल्ने मानिस देशविरोधी हुन्छ” भन्ने अभिव्यक्ति दिएपछि कार्यक्रमस्थलमै विरोध सुरु भएको थियो। कार्यक्रममा सहभागी केही युवाहरूले उक्त अभिव्यक्तिलाई असहिष्णु र मतदाताको स्वतन्त्र निर्णयमाथि दबाब सिर्जना गर्ने किसिमको भन्दै नाराबाजी गरेका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार चौधरीको भनाइपछि हलभित्रै वातावरण चर्किएको थियो। युवाहरूले ‘घण्टी मुर्दावाद’ लगायतका नारा लगाउँदै उनलाई घेरेपछि अवस्था तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रहरी परिचालन गरिएको थियो। प्रहरीले सुरक्षा घेरामा राख्दै उनलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको जनाएको छ।

कार्यक्रममा बोल्दै चौधरीले परिवर्तनका लागि दुई तिहाइ आवश्यक रहेको र त्यसका लागि सबै नागरिक सक्रिय हुनुपर्ने बताएका थिए। “यदि तपाईँले परिवर्तन आवश्यक ठान्नुभएको छ भने दुई तिहाइ पुर्‍याउन तपाईँ पनि लाग्नुस्। रास्वपा लागेको छ। तपाईँ लाग्नु हुन्न भने, अस्थिर सरकार चाहिरहनुभएको छ भने तपाईँ देशविरोधी हो,” उनले भनेका थिए। यही अभिव्यक्तिलाई लिएर विवाद चर्किएको हो।

घटनापछि सामाजिक सञ्जालमा पनि चौधरीको भनाइलाई लिएर तीव्र प्रतिक्रिया देखिएको छ। केहीले उनको अभिव्यक्तिलाई राजनीतिक आवेगको परिणाम भन्दै बचाउ गरेका छन् भने धेरैले लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको टिप्पणी गरेका छन्।

स्थानीय प्रशासनले भने कार्यक्रमस्थलमा भएको विवाद सामान्य स्थितिमा फर्किसकेको जनाएको छ। प्रहरीले शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र कुनै अप्रिय घटना हुन नदिएको स्पष्ट पारेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको माहोल नजिकिँदै जाँदा उम्मेदवारहरूको अभिव्यक्ति झन् संवेदनशील बन्ने भएकाले सार्वजनिक भाषणमा संयमता आवश्यक हुन्छ।

उनीहरू भन्छन्— मतदाताको स्वतन्त्र निर्णयलाई सम्मान गर्ने संस्कार नै लोकतन्त्रको आधार भएकाले यस्तो विवादले राजनीतिक वातावरण थप ध्रुवीकरण हुनसक्छ। यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।