काठमाडौँः स्थानीय तहमा पाँच वर्ष जनसेवा गर्ने वाचा गरेर निर्वाचित कतिपय जनप्रतिनिधिले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएर प्रतिनिधि सभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले स्थानीय तहमा गरेको कामको अनुभवका आधारमा प्रतिनिधि सभामा पुगेर सङ्घीय कानुन निर्माण गर्ने उद्देश्यले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मङ्गलबार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारको मनोनय दर्ता गराए ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अझै एक वर्ष तीन महिना बाँकी छ । २०७९ साल वैशाखमा सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनको २०८४ साल वैशाखमा मात्र पाँचबर्से कार्यकाल पूरा हुन्छ । स्थानीय आवश्यकतालाई सङ्घीय कानुुन निर्माणमा भूमिका निर्वाह गर्ने भन्दै उनीहरूले पदबाट राजीनामा गरेर उम्मेदवारको मनोनयन दर्ता गराएको दाबी गर्छन् । नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा क्षेत्र नं। ५ मा उम्मेदवारी दर्ता गराएका छन्।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पनि पदबाट राजीनामा दिएर चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकी छन्। उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएकी हुन् । त्यस्तै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा दिँदै सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । उनले श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका हुन्। धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले नेकपा (एमाले)बाट काभ्रे निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएको सङ्घले जनाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले पनि पदबाट राजीनामा दिएर उम्मेदवारी दिएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ ।
त्यस्तै धरान उपमहानगरपालिका वडा
नं १७ का वडाध्यक्ष मनोज भट्टराईले पनि उम्मेदवारी दिएका छन् । वीरगन्ज महानगरपालिका वडा नं १० का वडाध्यक्ष सुशील साह, वडा नं २० का अध्यक्ष रामकिशोर (पराग) सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नं व्रmमशः १ र २ मा उम्मेदवारी दिनुभएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द्रलाल कर्णले जानकारी दिए ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले आमनागरिकको सहभागिता र बुझाइलाई सङ्घीय सरकारको नीति निर्माण तहमा प्रतिनिधित्व गर्नका लागि आफूले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएको बताए। उनले भने, “सङ्घीयताको आधारभूमिका रूपमा रहेको स्थानीय तहमा काम गरेको अनुभवका आधारमा सङ्घीय नीति निर्माण तहमा पुग्न आफ्नो उम्मेदवारी हो ।”
तर सङ्घीयताविद् डा खिमलाल देवकोटाले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको मनोनयन गर्नु स्थानीय नागरिकका लागि धोका भएको बताए । उनले पाँच वर्षका लागि म प्रतिनिधि भएर काम गर्छुु भनेर निर्वाचित भएको व्यक्तिले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिँदा स्थानीय तहका नागरिकको अपमान भएको जिकिर गरे । देवकोटाले भने, “यस्तो प्रवृत्ति रोक्न आगामी दिनमा संविधान वा सम्बन्धित कानुन संशोधन गरेर स्थानीय तहको कार्यकाल नसकिँदै उम्मेदवार बन्न नपाउने व्यवस्था गर्नु पर्छ ।”
विघटित प्रतिनिधि सभाको कार्यकाल नसकिँदै बिचैमा विघटन भई निर्वाचन हुन लागेकाले स्थानीय तहमा लोकप्रियता हासिल गरेका तथा सामाजिक चर्चामा रहेका जनप्रतिनिधिले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोयन दर्ता गरेका हुन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।















