इटहरीः कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट इटहरी निवासी जेनजी उमेरका युवा प्राध्यापक गोपाल तामाङलाई टिकट दिएको छ ।
इटहरी ३ तामा टोल निवासी प्राध्यापक तामाङलाई आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उज्यालो पार्टीबाट उम्मेदवार बनाएपछि उनको चर्चा एकाएक चुलिएको छ ।
अर्थशास्त्रमा डिग्री गरेका उनी विद्यार्थी र अभिभावकहरु बीच पनि राम्रोसँग परिचित छन् । उनी कानून बिषयमा समेत अध्ययन गरिरहेका छन् । उम्मेदवार बन्ने पक्का भएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का युवाहरुमा एकखालको उत्साह बढेको छ ।
युवाहरुमा मात्र नभई उनी उम्मेदवार बन्ने भएपछि प्राध्यापन पेशामा संलग्न बौद्धिक व्यक्तिहरुमा समेत राम्रो चर्चा परिचर्चा शुरु भएको छ । सानै उमेरदेखि अध्ययन, सामाजिक कार्यसँगै राजनितिमा लागेका प्राध्यापक तामा परिर्वतनका लागि युवा इटहरी जेनजीका संरक्षक समेत हुन् । उनको उम्मेदवारी पक्का भएपछि जेनजीहरु मतदान गर्न आतुर भएका छन् ।
परिर्वतनका लागि युवा इटहरी जेनजीका अध्यक्ष सुसन मगरले तामा लाई विजयी गराउन हरतरहले लागि पर्ने बताए । त्यसका लागि आइतबारबाटै तयारीमा जेनजीहरुले आवश्यक तयारी थालेको मगरले बताए । देशभरका जेनजीहरुलाई एकै ठाँउमा ल्याउने संकलप बोकेर परिर्वतनका लागि युवा इटहरी जेनजीको संरक्षक बसेका तामाङले अन्य पार्टीका नेताहरु, अग्रज राजनितिकर्मीहरुलाई गाली गर्न भन्दा पनि देशको परिर्वतित अवस्थालाई राम्रोसँग बुझेर सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को समग्र विकास र युवाहरुको जनभावनालाई केन्द्रभागमा राखेर काम गर्नका लागि आफुले उम्मेदवारी दिन लागेको प्रतिक्रिया दिएका छन् ।
उनले भोली(माघ ६ गते) जिल्ला निर्वाचन कार्यालय इनरुवा सुनसरीमा उम्मेदवारी दर्ता पछि जनताका घर घरमा आर्शिवादका लागि जाने तयारी पनि थालेको जानकारी दिए ।
नेपालको अर्थराजनितिलाई नजिकबाट बुझेका उनी युवाहरुलाई आफ्नो गाउँठाउँमा राखेर थुप्रै रोजगारहरु सृजना गर्न सक्ने नविन भिजन भएका युवा नेता समेत हुन् । कृषिमा आधारित उद्यम र गाउँ केन्द्रित अर्थतन्त्रलाई मुलशिरमा राखेर योजना बनाए देश संमृद्धतर्फ लम्कन त्यती समय नै नलाग्ने उनको तर्क छ । पर्या पर्यटन र जलविद्युतको विकास माध्यमबाट समेत देशलाई संसारकै धनी बनाउन सकिने उनी ढुक्क समेत छन् ।




















