उर्लाबारीः मोरङको उर्लाबारी–४ किसानचोकमा ९० वर्षीया जेष्ठ नागरिक चन्द्रकला गौतममाथि कुटपिट तथा चोरीको प्रयास भएको छ। हिजो दिउँसो करिब ११ बजे घरमा एक्लै रहेको अवस्थामा एक युवकले घरभित्र प्रवेश गरी कुटपिट गर्दै लछारपछार गरेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर ८ भण्टाबारी घर बताउने र हाल उर्लाबारी–३ थापाचौकमा बस्दै काम गर्दै आएका युवकले डकैती शैलीमा कुटपिट गर्दै गरगहना चोरी गर्ने प्रयास गरेका थिए। घटनापछि चन्द्रकला गौतमको घरबाट भागेका ती युवड स्थानीयले हात–कान समाती नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएका थिए।
कुटपिटबाट घाइते भएकी जेष्ठ नागरिक गौतमलाई उपचारका लागि स्थानीय मदन भण्डारी अस्पताल सेन्टरमा लगिएको थियो। चिकित्सकका अनुसार उनको अवस्था स्थिर रहेको छ।
पीडितका छोरा रामप्रसाद गौतमका अनुसार चोरीमा संलग्न युवक मोहम्मद लक्की भनिने हयात अलि रहेको बताइएको छ। स्थानीयले उक्त युवक चारजनाको समूहमा बस्दै आएको खुलाएका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ भने पक्राउ परेका युवकविरुद्ध कुटपिट तथा चोरी उद्योग सम्बन्धी मुद्दाको प्रक्रिया अघि बढाइएको जनाएको छ।




















