काठमाडौंः मतपत्र छाप्न भनेर निर्वाचन आयोगले आठ वर्षअघि २५ करोडमा खरिद गरेको तीन मेसिन विनाप्रयोग खिया लागेर खेर गएका छन् । मतपत्र छाप्ने भनेर महँगोमा किनिए पनि मतदाता नामावली र परिचयपत्र मात्रै छाप्ने क्षमता भएका मेसिनले सुरुका तीन वर्षमा न्यून परिमाणमा छपाइ गरे पनि पाँच वर्षयता बिग्रिएर गोदाममा थन्क्याइएको हो । आफ्नो मेसिन गोदाममा खियाले सड्दै गर्दा आयोगले आसन्न निर्वाचनका सामग्री छाप्न ३५ करोड बजेट विनियोजन गरेर जनक शिक्षा सामग्री लिमिटेडलाई जिम्मा दिएको छ ।
निर्वाचन सामग्री छपाइका नाममा हुने खर्च घटाउन भन्दै सरकारले बजेट दिएपछि ०७४ को निर्वाचनको अन्तिम प्रहरमा लागत अनुमानभन्दा महँगोमा मेसिन किनिएका थिए । मेसिन आइपुग्नै ढिला भएपछि सो वर्ष आयोगले त्यसबाट कुनै निर्वाचन सामग्री छपाइ गर्न सकेन । प्रतिमिनेट १३२ कागज (सिट) प्रिन्ट गर्ने क्षमताका ती मेसिनबाट निर्वाचन परिणामका पुस्तक मात्र छापिएका थिए ।
त्यस्तै, राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनको सानो मतपत्र, उपनिर्वाचनका सामग्री, निर्वाचन परिणाम र वार्षिक प्रतिवेदनका पुस्तक मात्र छापिए । ०७९ को तीनै तहका निर्वाचनमा प्रयोगमा नआएका मेसिन यसपालि पनि प्रयोगविहीन बनेका हुन् । मर्मतका लागि ठुलो रकम लाग्ने, तर बजेट नभएपछि मेसिन थन्किएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बताउँछन् । ‘मेसिन सञ्चालनका लागि आयोगले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । मर्मत खर्च नहुँदा बेवारिसे अवस्थामै छ । हामीले त जनक शिक्षा सामग्री केन्द्रलाई बुझाउन चाहेका थियौँ । तर, मर्मत खर्चकै कुरा आएपछि गोदाममै छ,’ उनले भने । मेसिन सञ्चालनका लागि आपूर्तिकर्ता कम्पनीले तालिम दिएका कर्मचारी पनि अहिले सरुवा भइसकेको आयोगको भनाइ छ ।
आसन्न निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ दुई–दुई करोड प्रति गरी चार करोड मतपत्र छपाइ गर्नुपर्नेछ । यो छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । ‘हामीसँग भएको मेसिनले ठुलो मात्रामा मतपत्र छाप्न सक्दैन । थोरै परिमाणमा मतपत्र, मतदाता नामावली, पोस्टर, मतदाता शिक्षालगायतका सामग्री मात्रै छाप्न सक्ने क्षमताका छन् । त्यही पनि बिग्रिएर थन्क्याइएका छन्, मर्मत नगरेसम्म केही पनि छपाइ गर्न सक्ने सम्भावना छैन,’ उनले भने ।
आयोगका एक आयुक्तका अनुसार २५ करोडमा किनिएका मेसिन ‘सेकेन्ड हेन्ड’ भएको भन्दै प्रश्न उठिरहेको छ । मेसिनको बढी मूल्यांकन गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियार र आयोगबिच ६० पटक पत्र आदान–प्रदान भएको पनि ती आयुक्तले बताए । आयोगकै टोलीले अध्ययन गर्दा मेसिन चलाउन नसकिने निष्कर्ष निकालेको उनले बताए । ‘मेसिन कसरी चलाउन सकिन्छ भनेर आयोगले पाँच–सातजनाको कमिटी बनाएर अध्ययन ग¥यो । कमिटीले चल्ने अवस्था नरहेको रिपोर्ट दियो । त्यसपछि रिपोर्ट र मेसिन यथास्थितिमा राख्ने निर्णय भयो,’ उनले भने, ‘अध्ययन गर्दा मेसिन राखिएको गोदाममा मुसाका गुँड भेटिएको थियो । त्यो फोटो पनि अध्ययन प्रतिवेदनमै समेटिएको छ ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।




















