झापाः चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा ८ दिन अघिदेखि आमरण अनसन शुरु गरेका विजय थापालाई आज बिहान थप उपचारका लागि काठमाडौं लगिएको छ ।
आज बिहान नेपाली सेनाको एनए ००५५ हेलिकोप्टरमार्फत् उनलाई चन्द्रगढी विमानस्थलबाट काठमाडौं लगिएको हो । थापालाई आज बिहान ३ बजे इलामबाट एम्बुलेन्समार्फत् झापा ल्याइएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरीका जिल्लास्थित उच्च अधिकारी थापालाई काठमाडौँ पठाउने बेलामा विमानस्थलमा उपस्थित थिए । अर्का अनशनकारी प्राडा केसीलाई चन्द्रगढी विमानस्थलबाट राति नै नेपाली सेनाकै एमआई १७ नाइटभिजन हेलिकप्टरमार्फत् काठमाडौँ लगिएको थियो ।
दुवै अनसनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौँ लैजाने व्यवस्था मिलाएको हो । दुवैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौँ लैजाने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनसनकारी थापालाई ल्याउन आधा घण्टा ढिलो भएको र केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र लिएर सेनाको हेलिकोप्टर राति काठमाडौं गएको बताइएको छ ।